म्याग्दी । बेनी नगरपालिका–५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु. ५० हजारको भेडेखुर्सानी (क्याप्सिकम) बिक्री गरिन् ।
“दुई प्लास्टिक टनेलभित्र लगाएको भेडे खुर्सानी बेचेर यो याममा रु. ५० हजार कमाइ भयो”, उनले भनिन्, “भेडे खुर्सानी बेचेर सकिएपछि गोलभेडा र रायो साग खेती गर्ने योजनामा छु ।”
बसाइँ-सराइ र वैदेशिक रोजगारीका कारण कृषि मजदूरको अभाव, बाँदरको समस्या र बढ्दो लागतका कारण खाद्यबाली खेती गर्न समस्या हुन थालेको अवस्थामा व्यावसायिक तरकारी खेती गरेर घरव्यवहार चलाउन सहज भएको ‘एटुजेड’ कृषि फार्मकी सञ्चालक भण्डारीको अनुभव छ ।
बेनी नगरपालिकाको माथिल्लो भेगमा पर्ने डडुवाका बासिन्दा दशकअघिसम्म खेतबारीमा परम्परागत धान, गहुँ, मकै र कोदो खेती गर्दथे ।
आठ वर्षअघि स्थानीय हराभरा कृषि सहकारी संस्थाको आयोजनामा कास्की र पर्वतका तरकारी खेती भएका ठाउँहरूको अवलोकन भ्रमणपछि डडुवाका किसानले खेती गर्ने शैली बदलेका हुन् ।
अगुवा कृषक मोहनबहादुर भण्डारीले सहकारीको भ्रमण डडुवावासीलाई व्यावसायिक तरकारी खेतीमा अग्रसर बनाउन ‘टर्निङ पोइन्ट’ बनेको बताउँछन् ।
“भ्रमणपछि तत्कालीन कृषि ज्ञान केन्द्रमार्फत तरकारी खेतीका लागि प्लास्टिक टनेल बनाउने कार्यक्रम आयो”, उनले भने, “परीक्षणका लागि मैले खेतमा बनाएको दुईवटा टनेलमा गोलभेडा खेती सफल भएपछि अरुले पनि खेती गर्न थाले । अहिले गाउँभरी करिब ५० वटा टनेलमा गोलभेडा खेती भएको छ ।”
करिब रु. ७५ हजारको लागतमा तयार हुने प्लास्टिक टनेलभित्र एक याममा रु. एक लाख ५० हजारसम्म आम्दानी लिन सकिने किसानको अनुभव छ ।
“पहिले तरकारी किनेर खाने डडुवा अहिले तरकारी बेचेर नगद भित्र्याउने भएको छ”, भण्डारीले भने, “२० जनाभन्दा बढी किसानले व्यावसायिक रूपमा तरकारी खेती गरेका छौँ ।”
प्लास्टिक घरमा गोलभेडाको साथै यामअनुसार भेडे खुर्सानी, काँक्रो, सिमी, साग, मुला, गाजर, खुर्सानी, भन्टालगायत तरकारी खेती गर्छन् ।
रोजगारीको सिलसिलामा करिब एक दशक बहराइनमा बिताएका भण्डारीले हाल नौ वटा टनेलमा गोलभेडा खेती गरेकी छिन् ।
डडुवामा ६५ घरधुरी भए पनि केही बसाइँ-सराइ गरेर बेनी तथा पोखरा बस्छन् । गाउँमा भएका सबैजसोले तरकारी खेती गरेका छन् । बेनी र पोखरामा तरकारी बिक्री हुन्छ ।
पुलाचौर हुँदै डडुवा जोड्ने कच्ची सडकमा तरकारी ढुवानी गराउन समस्या हुने, सिँचाइका लागि पानीको अभाव, प्राविधिक सहयोगको कमी र उत्पादनले उचित मूल्य नपाउने चुनौती रहेको छ ।
बजारमा ग्राहकले रु. एक सय २० प्रति किलोका दरले खरिद गर्ने गोलभेडा डडुवाका किसानले आधा मूल्य रु. ६० का दरले बिक्री गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
कृषि विकास कार्यालय म्याग्दीका प्रमुख सञ्जिव बाँस्तोलाले डडुवा पछिल्लो समय तरकारी खेतीमा नमूना बन्दै गएको बताए ।
किसानलाई साना सिँचाइ कार्यक्रममार्फत पोखरी निर्माण, प्लास्टिक घर र यान्त्रिक हलोमा अनुदान सहयोग दिइने उनले बताए ।
बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाले बेनीदेखि पुलाचौरसम्मको सडक पक्की बनाएको बताउँदै यसपालि पुलाचौरदेखि नयाँगाउँखण्डमा स्तरोन्नती गर्ने तयारी भएको बताए ।
बेनी नगरपालिकाको मात्र नभएर जिल्लाभरका किसानले उत्पादन गरेको तरकारी, फलफूल र पशुजन्य उपजको बजारीकरणका लागि बेनीमा कृषि बजार सञ्चालनको तयारी गरेको उनले बताए ।”

