म्याग्दी । बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जल विद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिने भएको छ ।
दुखुखोलामा आएको बाढीले पुलको संरचनामा क्षति पुर्याएको थियो । पुल भासिने जोखिम बढेपछि बढी तौल भएका सामान बोकेका ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।
जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले सरकारी प्रक्रियाबाट ढिलाइ हुने भएकाले जल विद्युत् आयोजनाको रु. ५० लाख लगानीमा पुल संरक्षणको काम शुरु भएको जानकारी दिइन् ।
“पुलको जोखिमका कारण निर्माण कार्य प्रभावित बनेपछि म्याग्दी नदी बेसिनका जल विद्युत् आयोजनाले साझेदारी गरेर संरक्षणको काम गर्ने सहमति जनाएका छन्,” उनले भनिन्, “पुल संरक्षणको अवधिसम्म ठूला गाडी सञ्चालनको आवश्यक व्यवस्था मिलाउन स्थलगत अध्ययन गरिएको छ ।”
पुलको जग मुनिबाट खोला बग्न थालेको र पहुँचमार्ग कटान भएर साँघुरिएकाले यात्रु वाहक सवारी साधन र जल विद्युत् आयोजनाका सामग्री बोकेका ठूला ट्रक गुड्ने पुल जुनसुकै बेला भासिएर दुर्घटना हुने जोखिम छ ।
पुलमा समस्या आए मालिका, धवलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँगको सिधा यातायात सम्पर्क टुट्छ ।
कुल ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको अपर म्याग्दी, ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ तथा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला, १४ मेगावाट क्षमताको मुदीखोला र छ मेगावाटको दरखोला जल विद्युत् आयोजनाले साझेदारीमा पुल मर्मत गर्न सहमति जनाएका छन् ।
दुखु खोला पुल र फापरखेतको पहिरोका कारण जल विद्युत् आयोजनामा निर्माण सामग्री र उपकरण ढुवानीमा समस्या भएको छ ।
सङ्घीयता लागू हुनुअघि तत्कालीन जिल्ला प्राविधिक कार्यालयले २० मिटर लामो र छ मिटर फराकिलो पुल निर्माण गरेको हो ।
रु. दुई करोड छ लाखमा २०७६ सालमा निर्माण सम्पन्न भइ सञ्चालनमा रहेको पुल केही दिन पहिलेको बाढीका कारण समस्यामा परेको हो ।
मालिकाधुरीको फेदीमा मुहान रहेको दुखु ठाडो खोला हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर परिचालन गरेर खोला डाइभर्सन गर्ने र पर्खाल बनाएर पुलको पिलर तथा पहुँच मार्गको अस्थायी संरक्षण गरेको थियो ।

