२०८३, कार्तिक ११ गते बुधबार

सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुट खेती

सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुट खेती


  • मेरोभ्यूज
  • आश्विन २९, २०८३ बिहीबार

  • सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुट खेती

     

    कपिलवस्तु । सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती शुरु गरेका छन् ।

    करिब डेढ वर्षअघि चार कट्ठा जमिनमा शुरु गरिएको खेतीबाट उनले हालसम्म तीन पटक फल उत्पादन गरिसकेका छन् ।

    रुपन्देहीको रानीबगियाबाट छ सय २८ बिरुवा खरिद गरी एक सय ५७ पोलमा चार–चारवटा बिरुवा रोपेर खेती शुरु गरिएको बेलवासेले बताए ।

    उनले प्रतिबिरुवा रु. एक सय ६० का दरले खरिद गरेका हुन् । बिरुवा अझै पूर्ण रूपमा परिपक्व नभएकाले उत्पादन बढ्न केही समय लाग्ने उनको भनाइ छ ।

    “अहिलेसम्म तीन पटक फल टिपेका छौँ । चौथो पटक फल टिप्ने तयारीमा छौँ । आगामी वर्षदेखि उत्पादन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरेको छु,” उनले भने ।

    ड्रागन फ्रुटको बजार राम्रो भएकाले बिक्रीका लागि समस्या नरहेको बेलवासेले बताए । उनका अनुसार अहिले प्रतिकिलोग्राम रु. चार सयसम्ममा बिक्री भइरहेको छ । फल उत्पादन भएपछि ग्राहकहरू घरमै आएर खरिद गर्ने गरेको उनले बताए ।

    युट्युबबाट खेतीसम्बन्धी जानकारी लिएर नयाँ बालीतर्फ आकर्षित भएको बताउँदै बेलवासेले सिँचाइको अभावलाई खेतीको मुख्य चुनौतीका रूपमा लिएका छन् ।

    रोग तथा कीरा व्यवस्थापनका लागि थप प्राविधिक ज्ञान आवश्यक रहेको उनको भनाइ छ ।

    चितवनको हावापानी ड्रागन फ्रुट खेतीका लागि बढी अनुकूल मानिए पनि कपिलवस्तुमा उचित व्यवस्थापन गर्न सके राम्रो उत्पादन लिन सकिने उनले बताए ।

    जिल्लामा अत्यधिक गर्मी हुने भएकाले भने खेती व्यवस्थापनमा केही कठिनाइ हुने गरेको उनको अनुभव छ ।

    कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीले जिल्लामा ड्रागन फ्रुट खेतीको क्षेत्रफलसम्बन्धी यकिन अभिलेख नरहे पनि साना तथा छरिएर खेती शुरु हुन थालेको बताए ।

    व्यावसायिक सम्भावना, राम्रो बजार र आकर्षक मूल्यका कारण किसानमा ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दै गएको उनले बताए ।

    परम्परागत बालीसँगै नयाँ तथा बढी आम्दानी दिन सक्ने फलफूल खेतीतर्फ किसान आकर्षित हुन थालेसँगै कपिलवस्तुमा ड्रागन फ्रुट खेतीले पनि विस्तारको सम्भावना देखाएको छ ।


    प्रकाशित : बिहीबार , आश्विन २९ २०८३०९:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार