२०८३, कार्तिक ११ गते बुधबार

प्रचार-प्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

प्रचार-प्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून


  • मेरोभ्यूज
  • कार्तिक ८, २०८३ आइतबार

  • प्रचार-प्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

     

    सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका कारण पर्यटनको प्रचुर सम्भावना रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा विदेशी पर्यटकको आगमन भने न्यून रहेको छ ।

    आर्थिक वर्ष २०७५/०७६ देखि २०८२/०८३ सम्म कोशी टप्पु वन्यजन्तु आरक्षमा ९० हजार दुई सय ८३ पर्यटक पुगेका छन् । तीमध्ये विदेशी पर्यटकको सङ्ख्या दुई हजार २९ मात्र रहेको छ ।

    आर्थिक वर्ष २०८२/०८३ मा १२ हजार आठ सय ८३ पर्यटक आरक्ष पुगेकामा विदेशी पर्यटक तीन सय पाच जना थिए । आर्थिक वर्ष २०८१/०८२ मा ११ हजार छ सय छ पर्यटकमध्ये तीन सय दुई जना विदेशी र २०८०/०८१ मा १२ हजार पाच सय ५६ पर्यटकमध्ये तीन सय २७ जना विदेशी पर्यटक आएका थिए ।

    त्यसैगरी, आर्थिक वर्ष २०७९/०८० मा १२ हजार चार सय ७९ पर्यटकमध्ये तीन सय ११ जना, २०७८/०७९ मा ११ हजार एक सय ६७ मध्ये एक सय ३० जना, २०७७/०७८ मा नौ हजार आठ सय १८ मध्ये ७७ जना, २०७६/०७७ मा ११ हजार १४ मध्ये एक सय ८९ जना र २०७५/०७६ मा आठ हजार सात सय ६३ पर्यटकमध्ये तीन सय ८८ जना विदेशी पर्यटक रहेको कोशी टप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन तथा सूचना अधिकारी मिथलेस महतोले बताए ।

    अन्य राष्ट्रिय निकुञ्ज तथा आरक्षको तुलनामा यहाँ विदेशी पर्यटकको आगमन कम रहेको छ ।

    पर्यटन पूर्वाधार र प्रचार-प्रसारको कमीका कारण पनि विदेशी पर्यटकको आगमन कम भएको हुनसक्ने सूचना अधिकारी महतोको भनाइ छ ।

    कोशी टप्पुलाई वन्यजन्तु अवलोकन, बर्ड वाचिङ र सिमसार पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने भए पनि त्यसअनुसारका पूर्वाधार बन्न नसकेको उनले बताए ।

    देशका अन्य निकुञ्ज र आरक्षको तुलनामा निकै कम विदेशी पर्यटक कोशी टप्पुमा आउने गरेका छन् । मुख्यतः प्रचार प्रसारकै अभाव रहेको उनको कथन छ ।

    कोशी टप्पुको मुख्य पर्यटन आकर्षण अर्ना भए पनि यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी, सिमसार, नदी र घाँसे मैदान छन् ।

    त्यसैले अर्ना अवलोकनसँगै बर्ड वाचिङ, प्रकृति पदयात्रा, नदी पर्यटन र जङ्गल सफारीलाई व्यवस्थित गर्न सके विदेशी पर्यटक आकर्षित गर्न सकिने पर्यटन व्यवसायी रमन भट्टराईले बताए ।

    “सुनसरी र उदयपुरका बीचमा रहेको बेलका बीच रिसोर्टबाट जङ्गल सफारी शुरु गरेको छु । आरक्षभित्र जाने सडकको पूर्वाधार छैन”, उनले भने ।

    आरक्ष क्षेत्रमा व्यवस्थित पदयात्रा तथा बर्ड वाचिङ मार्ग, पर्यटक सूचना केन्द्र तथा होमस्टे सञ्चालन गर्न सके पर्यटकको आगमन बढ्न सक्ने उनको भनाइ छ ।

    विक्रम संवत २०३२ मा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको एक सय ७३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

    विक्रम संवत २०४४ देखि रामसार सूचीमा सूचीकृत आरक्ष जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो ।

    सन् १९७६ को गणनामा कोशी टप्पुमा ६३ वटा अर्ना रहेका थिए भने सन् २०२१ को गणना अनुसार सङ्ख्या बढेर चार सय ९८ पुगेको छ । कोशी टप्पुमा ४२ प्रजातिका स्तनधारी, पाच सय ३५ प्रजातिका पक्षी, एक सय ४१ प्रजातिका माछा र ७७ प्रजातिका पुतली पाइन्छन् ।

    यस्तै, ३२ वटा खरमयुर र १९ वटा डल्फिन रहेका छन् । साथै यहाँ हिउँदमा विभिन्न विदेशी चरासमेत आउने गर्दछन् ।


    प्रकाशित : आइतबार, कार्तिक ८ २०८३०९:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार