म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध बनाउन सबस्टेशन बनाएको हो ।
एकाउन्न रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सबस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान भइसकेको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए ।
“डाडाखेत सबस्टेशनको भौतिक पूर्वाधार निर्माण र जडान भएका उपकरणको परीक्षण भएको छ,” उनले भने, “डाडाखेतदेखि राहुघाट जोड्ने २५ किलोमिटर प्रसारण लाइन र राहुघाट सबस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ ।”
डाडाखेतमा विक्रम संवत २०७५ देखि सबस्टेशनका लागि जग्गा व्यवस्थापन, घेराबार र आवास भवन निर्माण थालिएको थियो ।
प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा रु. तीन अर्ब ५७ करोडमा लार्सन एण्ड टुब्रो (एलएनटी) लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो ।
पहिलो पटकको म्याद सन् २०२५ जुलाई १६ र दोस्रो पटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ अगस्ट १६ गतेसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो ।
ठेकेदार कम्पनी एलएनटीका आयोजना व्यवस्थापक शुभासचन्द्र शर्माले आगामी डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताए ।
उनका अनुसार प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रुख कटान आदेश प्राप्त हुन भएको ढिलाइ, राहुघाट सबस्टेशन निर्माणस्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले निर्माण अवधि लम्बिएको हो ।
एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको हालसम्म ८२ वटाहरूमध्ये ८० वटाको जग निर्माण र ७२ वटा टावर खडा भएका छन् । करिब १५ किलोमिटर प्रसारण लाइनको तार तान्ने काम सकिएको छ । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
कुल रु. चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु. एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र रु. तीन अर्ब ८२ करोड एशियाली विकास बैङ्कको ऋण लगानी छ ।
एशियाली विकास बैङ्कसँग भएको २७ मिलियन डलर ऋण सम्झौता पछिल्लो पटक बढाएर ३१ मिलियन डलर बनाइएको छ ।
एशियाली विकास बैङ्कले विद्युत् प्रसारण लाइन आधुनिकीकरण परियोजनामार्फत राहुघाट–डाडाखेत प्रसारण लाइन बनाउन ऋण लगानी गरेको हो ।
म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चारवटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र २३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले उत्पादन थालेका छन् ।
चालिस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छ ।
तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा विद्युत् आपूर्ति गराएका तुदी पावरका आयोजना प्रमुख ईन्द्र ढकालले बताए ।

