
काठमाडौँ । पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सदस्य-सचिव बरिष्ठ इन्जिनियर हरिनारायण मल्लबाट प्रस्तुत भएको सुधारिएको नेपाल सम्वत् र सत्ययुगको प्रादुर्भाग शीर्षकको कार्यपत्र माथि रामायण होटल, खुशीवुँ काठमाडौँमा हालै छलफल सम्पन्न भएको थियो ।

पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिको आयोजनामा प्रसिद्ध संस्कृतविद महेश्वर जुजु राजोपाध्यायको सभापतित्वमा रामायण होटल, खुशीवुँ काठमाडौँमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आशनग्रहण गर्दै राजपरिषद् स्थायी समितिका पूर्वसम्मानीय प्रा.डा. रत्नकमल वैद्यले नेपाल सम्वतलाई ब्यवहारिकरुपमा कार्यान्वयन गर्न जोड दिनुभयो ।
यसैगरी बरिष्ठ इन्जिनियर मल्लले प्रस्तुत गर्नु भएको 'सुधारिएको नेपाल सम्वत् र सत्ययुगको प्रादुर्भाग शीर्षक' विषयक कार्यपत्र माथि विभिन्न विषय विज्ञ वक्ताहरुले यस विषयमा आ-आफ्नो धारणा राखेका थिए ।
पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ र इतिहासकार दिनेशराज पन्तबाट नेपाल सम्वत् बारे तुलनात्मक विश्लेषण गर्दै नेपाल मण्डलका वासीहरुले नेपाल सम्वत् लागु गर्ने विषयमा विभिन्न तर्क प्रस्तुत गरेका थिए ।
धर्म तथा ज्योतिष, इतिहास तथा जात्रा पर्व, सरकारी पक्ष र आर्थिक समूह विभाजन गरेर छलफल तथा सुधारका बारेमा चर्चा गरियो ।
धर्म तथा ज्योतिष समूका संयोजक डा. दयाराम श्रेष्ठ लुभु, इतिहास तथा जात्रा समूहका संयोजक भिक्षु आनन्द, कार्यक्रम संचालक एवं सरकारी समूहका संयोजक प्रा.डा. श्रीरामप्रसाद उपाध्याय तथा आर्थिक समूहका संयोजक रामलाल श्रेष्ठले सुधारिएको नेपाल सम्वत् लागु गर्ने बारेमा आ-आफ्नो जिज्ञासा राखेका थिए ।

यसैबीच पर्व समय सुधार राष्ट्रिय समाज नेपाल, काठमाडौँ जिल्ला समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक नरेशमान सिंह, दिनेशराज पन्त, नेता नारायणकाजी श्रेष्ठ, डा. नुतनधर शर्मा, महेश्वरमान सिंह, आरके (राजु) शाक्य, शंकर मघैयालगायतले पनि नेपाल सम्वत् लागु गर्ने बारे आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।


