२०८३, कार्तिक ११ गते बुधबार

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण


  • मेरोभ्यूज
  • कार्तिक ९, २०८३ सोमबार

  • म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण

     

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं. ४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ ।

    सङ्घीय सरकारको ससपेन्सन ब्रिज डिभिजन, काठमाडौँले म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो ।

    धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उक्त पुलबाट हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम र काफलडाँडाका बासिन्दा लाभान्वित भएका जानकारी दिए ।

    उनका अनुसार बाँसबोटका किसानले उत्पादन गरेको केराको बजारीकरणमा सहज भएको छ ।

    पुल निर्माणका लागि २०८२ साल असारमा रामकृष्ण–सोमरस जेभी र डिभिजनबीच रु. एक करोड ६४ लाख १५ हजार दुई सय ५४ मा ठेक्का सम्झौता भएको थियो । यसै महिनामा पुल निर्माण सकिएपछि आवत-जावतका लागि खुला गरिएको छ ।

    अठार महिनाको ठेक्का अवधि रहेको थियो । निर्धारित समयभित्रै पुल सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि प्रविन सापकोटाले बताए ।

    धवलागिरि गाउँपालिका–७ का राजकुमार कोइरालाले पुलले आवत-जावतको समय छोटिनुका साथै पर्यटकीयस्थलका रूपमा विकास हुने अपेक्षा गरिएको बताए । एक घण्टाको यात्रा अवधि पाँच मिनेटमा छोटिएको उनले बताए ।

    धवलागिरि गाउँपालिकामा यसअघि गत वर्ष दुईवटा तीन सय मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण भएका थिए ।

    धवलागिरि गाउँपालिका–६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा तीन सय ६५ मिटर र वडा नं. ३ फलियागाउँ र दर जोड्ने दरखोलामा तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । यससहित हाल म्याग्दीमा तीन सय मिटरभन्दा लामा झोलुङ्गे पुलको संख्या सात पुगेको छ ।

    रघुगंगा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा तीन सय ६५.८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने तीन सय ५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर र अन्नपूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने तीन सय ४४ मिटर लामो पुल निर्माण भइसकेका छन् ।


    प्रकाशित : सोमबार, कार्तिक ९ २०८३०९:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार