म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ मा रहेको ऐतिहासिक चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकार, मङ्गला गाउँपालिका, चिनाकोट आमा समूह र देउराली सामुदायिक वन उपभोक्ता समूहको रु. ५० लाख बढी लगानीमा पूर्वाधार निर्माण भएको हो ।
चिनाकोट संरक्षण तथा व्यवस्थापन समितिका सचिव प्रकाश पुनले आर्थिक वर्ष २०७६/०७७ देखि २०८२/०८३ सम्म चिनाकोटको पर्यटन पूर्वाधार निर्माणमा प्रदेश सरकारबाट रु. ४० लाख, मङ्गला गाउँपालिकाबाट रु. आठ लाख र आमा समूहको रु. दुई लाख लगानी भएको बताए ।
“एक किलोमिटरभन्दा बढी पक्की र करिब दुई किलोमिटर कच्चि पदमार्ग तथा सडक, दृश्य अवलोकनस्थल र आश्रयस्थल निर्माण भएको छ,” उनले भने, “बरञ्जा गाउँदेखि चिनाकोटसम्म विद्युत् विस्तारमा देउराली सामुदायिक वन उपभोक्ता समूह तथा योजना कार्यान्वयनमा विनियोजन भएको कुल बजेटको दस प्रतिशत स्थानीयबासीले श्रमदान गरेका छन् । खानेपानीको व्यवस्था गरिएको छ ।”
विक्रम संवत २०७५ अघिसम्म सुनसान चिनाकोटमा पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक आउन थालेको देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर छन्त्यालले बताए ।
“सङ्घीयता अघिसम्म एउटा टहरा मात्र रहेको चिनाकोटमा प्रदेश र स्थानीय तहमार्फत सुरक्षितरूपमा पुग्न सकिने पदमार्ग बनेपछि पाहुना आउन थालेका हुन्,” उनले भने, “पहाडको टाकुरामा रहेको चिनाकोटमा सुरक्षाका लागि वरपर घेराबार र पुरातात्विक महत्त्वका सामग्रीको संरक्षणको आवश्यकता छ ।”
समुद्र सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको चिनाकोटबाट सूर्योदयका साथै अन्नपूर्ण, धौलागिरि, गुर्जा र माछापुच्छ्रे हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।
मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडामा समेटिएको बरञ्जाको शीरमा रहेको चिनाकोटदेखि म्याग्दीको पश्चिमी भेगका ग्रामीण बस्ती, पहाडि भूगोल र नागबेली परेर बगेको म्याग्दी नदी अवलोकन गर्न सकिन्छ ।
बरञ्जाका अगुवा रणबहादुर रोकाका अनुसार भुरे टाकुरे राजाका पालामा चिनाकोटमा बरञ्जी राजाको दरबार थियो ।
“दरबारका पर्खालको भग्नावशेष, खाद्यान्न पिस्नका लागि प्रयोग हुने जातोलगायतका ऐतिहासिक वस्तुहरू अझै चिनाकोटमा छन्,” उनले भने, “रानीको कपाल कोर्ने ढुङ्गा, बेहुला, बेहुली नाम गरेका ढुङ्गा पनि अवलोकन गर्न सकिन्छ ।”
चिनाकोटको फेदीमा रहेको थर्पुगाउँको दरबारमा खुँडा, तरबार, ढाललगायत परम्परागत युद्धमा प्रयोग हुने हातहतियार छन् ।
मङ्गला गाउँपालिका–३ का कार्यवाहक वडाध्यक्ष भेषकुमारी पुनले बर्खायाम बाहेकको समयमा बिदा मनाउनका लागि क्याम्पिङ गर्नका लागि यहाँ पाहुनाहरू आउने गरेका छन् ।
बस्तीदेखि टाढा र एकान्त वातावरणमा रहेको चिनाकोटमा वनभोजका लागि आउनेलाई भाँडाकुँडाको व्यवस्था मिलाइएको छ ।
चिनाकोट नजिकै रहेको घारसुन्ने डाँडामा दृश्य अवलोकनस्थल बनाइएको छ ।
पहाडको टाकुरामा रहेको गोलो आकारको ढुङ्गामा वरपर घेराबार बनाएर त्यहाँसम्म पुग्ने पदमार्ग बनाइएको छ ।
म्याग्दीको सदरमुकाम बेनी बजारदेखि तातोपानी बरञ्जा हुँदै गाडीमा एक घण्टाको यात्रापछि चिनाकोट पुगिन्छ ।
बरञ्जादेखि पैदलयात्रा गरेर चिनाकोट पुग्न दुई घण्टा लाग्छ । होटल तथा रेष्टुरेन्ट नभएकाले खाद्य सामग्री पाहुना आफैँले व्यवस्थापन गर्नुपर्छ ।
पर्यटकीय पूर्वाधारको म्याग्दी १(ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले हालै उद्घाटन गरे ।
उनले चिनाकोटका साथै झाँक्रीपानी र गम्फाधुरीलगायत बरञ्जाका पर्यटकीयस्थलमा पूर्वाधार निर्माणमा प्रदेश सरकारले लगानी गरिरहेको बताए ।
पूर्वाधारको उपभोग गरी पर्यटक भित्र्याएर आयआर्जन, रोजगारी सिर्जना र आत्मनिर्भरतातर्फ अग्रसर हुन उनले स्थानीयबासीलाई आग्रह गरे ।
बरञ्जाका बासिन्दासमेत रहेका संविधानसभा सदस्य गमबहादुर श्रीस, मङ्गला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र मङ्गला–४ का वडाध्यक्ष लालबहादुर रोकाले ऐतिहासिकस्थल, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र विकासमार्फत समृद्धि हाँसिल हुने विश्वास व्यक्त गरे ।

