२०८३, कार्तिक ११ गते बुधबार

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै


  • मेरोभ्यूज
  • कार्तिक ९, २०८३ सोमबार

  • तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

     

    कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि किल्ला आसपासका थप जग्गा अधिग्रहण गरिँदैछ ।

    तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गर्न आधार तयार गर्ने क्रममा पुरातत्व विभागले जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको हो ।

    विभागका अनुसार किल्ला परिसर बाहिर गरिएको उत्खनन तथा भू-भौतिक सर्वेक्षणबाट प्राचीन संरचनाका भग्नावशेष तथा अन्य पुरातात्विक अवशेष भेटिएका छन् ।

    ती संरचनाको अध्ययन, अनुसन्धान तथा संरक्षणका लागि त्यस क्षेत्रको जग्गा आवश्यक परेको हो ।

    विभागका प्रमुख पुरातत्व अधिकृत सन्दिप खनालका अनुसार साविक मालपारा–१ ख र मालपारा–४ क अन्तर्गतका विभिन्न कित्ता नम्बरका जग्गा अधिग्रहण गरिनेछ ।

    पुरातात्विक महत्त्वका संरचना तथा वस्तु भेटिएका क्षेत्रलाई संरक्षणको दायरामा ल्याउन जग्गा अधिग्रहण गर्न लागिएको उनले बताए ।

    जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम विभागले सम्बन्धित जग्गाधनी, भू-स्वामी तथा सरोकारवालालाई सूचना जारी गरी अधिग्रहण प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ ।

    भगवान् गौतम बुद्धले राजकुमार सिद्धार्थका रूपमा जीवनको २९ वर्ष बिताएको स्थलका रूपमा तिलौराकोटलाई लिइने गरिएको छ ।

    त्यहाँ भएका उत्खनन तथा भू-भौतिक सर्वेक्षणबाट किल्ला परिसर बाहिरसमेत प्राचिन संरचनाका प्रमाण फेला परेकाले संरक्षणको दायरा विस्तार गर्न लागिएको हो ।

    अधिकृत खनालले थप जग्गा अधिग्रहणपछि पुरातात्विक संरचनाको विस्तृत अध्ययन, अनुसन्धान र संरक्षणका साथै क्षेत्रको व्यवस्थित व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

    तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गराउने प्रयासअन्तर्गत पुरातात्विक महत्त्वका क्षेत्रको संरक्षण र अनुसन्धानलाई प्राथमिकता दिइएको विभागले जनाएको छ ।


    प्रकाशित : सोमबार, कार्तिक ९ २०८३०९:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार