२०८३, कार्तिक १८ गते बुधबार

व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता


  • मेरोभ्यूज
  • कार्तिक १७, २०८३ मंगलबार

  • व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

     

    सुनसरी । सशस्त्र प्रहरीको जागिर र वैदेशिक रोजगारीबाट सोचेजति आम्दानी नभएपछि के गर्ने होला भन्ने चिन्तामा थिए–बालक चन्द्रवंशी ।

    कृषिभन्दा अरू उत्तम विकल्प नदेखेपछि उनले यसलाई अङ्गाले । द्विविधामा शुरु गरेको व्यवसायले सफलता दिएपछि चन्द्रवंशीलाई आजकल लाग्छ रे ‘गरे त हुँदो रहेछ’ ।

    सुनसरीको बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चन्द्रवंशीले व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु. ४० लाखसम्म आम्दानी गर्न सकेको सफलताको कथा गौरवका साथ सुनाउँछन् ।

    विक्रम संवत २०६२ देखि २०६९ सालसम्म सशस्त्र प्रहरीमा सेवा गरेका चन्द्रवंशीले जागिर छाडेपछि आफैँ गाडी खरिद गरी चलाए । त्यसबाट पनि सोचेअनुसार आम्दानी नभएपछि २०७५ मा रोजगारीका लागि कुवेत गए ।

    खाडीको घाम सहेर फर्केपछि उनले २०७७ सालमा कृषि पेसा गर्ने सोच राखे । रु. ५० हजार लगानीमा कृषि पेसा शुरु गरेका उनले अहिले करिब चार बिगाहा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।

    “पहिले बारी बाँझो हुन्थ्यो । घरमा काम गर्ने मान्छे पनि हुँदैनथ्यो । थोरै खेतीमा धान र मकै लगाइन्थ्यो, खानका लागि पुग्थ्यो तर नगद पैसा हात पर्दैनथ्यो,” चन्द्रवंशीले भने, “नेपालमा जागिर खाँदा कमाइ थोरै थियो । अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन । अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको छ ।”

    हाल दैनिकजसो तरकारी बिक्री हुने भएकाले आम्दानी पनि नियमित हुने गरेको उनले बताए । करिब अढाइ बिगाहामा गोलभेँडा खेती गरेका उनले बाँकी जग्गामा काँक्रो, बोडी, घिरौँला, खुर्सानीलगायत मौसम अनुसारका तरकारी लगाएका छन् ।

    मौसमले साथ दिँदा उत्पादन राम्रो हुने र सिँचाइ तथा मलपानीको उचित व्यवस्थापन गर्न सके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।

    “अहिले यही पेसाबाट मनग्य आम्दानी भइरहेको छ,” उनले भने, “भदौको पहिलो सातादेखि गोलभेँडा रोप्न शुरु गरिन्छ भने कात्तिकको अन्तिम सातादेखि टिप्न थालिन्छ । अन्य मौसमी तरकारी भने वर्षभरि उत्पादन हुने गरेको छ ।”

    आधुनिक जातका गोलभेँडा लामो समयसम्म नबिग्रिने भएकाले टाढाका बजारमा पठाउन सहज हुने हुँदा गोलभेँडा खेतीलाई बढी प्राथमिकता दिएको उनले बताए ।

    “गोलभेँडाका कलमी बिरुवा केही भारतबाट ल्याएर रोप्ने गरेको छु भने बाँकी बिरुवा आफैँ उत्पादन गर्छु । अन्य तरकारीका बिरुवा स्थानीय बजारबाट खरिद गरेर ल्याउने गरेको छु,” उनले भने ।

    उत्पादित तरकारी बिक्रीका लागि बजारसम्म आफैँ पुग्नुपर्ने अवस्था नरहेको चन्द्रवंशी बताउँछन् ।

    धनकुटा, झापा, उदयपुर, धरान, इटहरी, इनरुवाललगायत स्थानबाट व्यापारी बारीमै आएर तरकारी खरिद गरी लैजाने गरेका छन् । सडक तथा यातायातको पहुँचका कारण उत्पादन बिक्री गर्न सहज भएको उनको भनाइ छ ।

    उनको खेतीमा वर्षभरि ज्यालादारीमा १२ जनाले काम पाएका छन् । भदौको अन्तिम सातादेखि वैशाखसम्म भने दैनिक २० देखि ३० जनासम्म कामदारलाई मासिक रु. १८ हजारदेखि रु. २० हजारसम्म पारिश्रमिक दिएर काममा लगाउने गरिएको उनले जानकारी दिए ।

    “श्रीलङ्का टप्पुमा अधिकांश स्थानीय आफैँ खेती गर्ने भएकाले कामदार पाउन गाह्रो छ । अहिले सप्तरी जिल्लाबाट कामदार ल्याएर खेतीमा काम लगाएको छु,” उनले भने ।

    तरकारी खेतीसँगै चन्द्रवंशीले करिब अढाइ बिगाहा क्षेत्रफलमा मकै खेती गर्दै आएका छन् । मकै बिक्रीबाट वार्षिक रु. चार लाखसम्म आम्दानी हुने उनले जानकारी दिए ।

    कृषिबाट भएको आम्दानीले उनले प्रकाशपुरमा पाँच कट्ठा जग्गा खरिद गरेका छन् । उनका एक छोरा र तीन छोरी स्थानीय निजी विद्यालयमा अध्ययनरत छन् ।

    “अहिले गाउँमै राम्रो कमाइ भइरहेको छ । गाउँमै रोजगारी सिर्जना गर्न सकेकोमा सन्तुष्ट छु । अहिले गाउँमा राम्रो व्यवसायी भनेर नाम र दाम दुवै कमाएको छु,” उनले भने ।

    चन्द्रवंशीको खेतीमा विगत चार वर्षदेखि काम गर्दै आएका सप्तरीका राजकुमार भन्छन्, “आफ्नो गाउँमा पर्याप्त खेतीपाती गर्ने बारी छैन । त्यहाँ काम पनि पाइँदैन । खेती पनि छैन । यहाँ आएर काम गरिरहेको छु । रोजगार पाएकोमा खुसी छु ।”

    “यहाँ थोरै आम्दानी भए पनि बचत हुन्छ । विदेशको कमाइले आफैँलाई खर्च पुर्याउन गाह्रो हुन्छ । नेपालको कमाइ थोरै भए पनि सबै बचत गर्न सकिन्छ,” उनले भने ।


    प्रकाशित : मंगलबार, कार्तिक १७ २०८३१०:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार