२०८३, कार्तिक १८ गते बुधबार

गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

गिद्ध संरक्षणमा ऐतिहासिक सफलता


  • मेरोभ्यूज
  • कार्तिक १७, २०८३ मंगलबार

  • गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

     

    अर्घाखाँची । कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनःफर्कन थालेका छन् ।

    संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधिमाथिको नियन्त्रण, सुरक्षित आहार र बासस्थान संरक्षणका कारण नेपाल लोपोन्मुख गिद्धको सङ्ख्या घट्ने क्रम रोक्दै पुनःवृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ ।

    सन् १९९० को दशकमा दक्षिण एसियामा गिद्धको सङ्ख्या अस्वाभाविकरूपमा घट्न थालेको थियो ।

    नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा ठूलो सङ्ख्यामा गिद्ध मरेका भेटिएपछि यसका कारण खोज्ने क्रममा पशु उपचारमा प्रयोग हुने पीडानाशक औषधि डाइक्लोफेनेक गिद्ध विनाशको प्रमुख कारण भएको पुष्टी भएको थियो ।

    डाइक्लोफेनेक प्रयोग गरिएको गाईबस्तु मरेपछि त्यसको सिनो गिद्धले खाँदा गिद्धको मिर्गौलाले काम गर्न छाड्ने र करिब दुई दिनभित्रै मृत्यु हुने गरेको अनुसन्धानबाट पत्ता लागेको थियो ।

    त्यसबेला प्रजाति र स्थानअनुसार गिद्धको सङ्ख्या हरेक वर्ष २० देखि ५० प्रतिशतसम्म घटेको थियो ।

    दक्षिण एसियामा पाइने नौ प्रजातिका गिद्धमध्ये चार प्रजाति अतिसङ्कटापन्न, एक सङ्कटापन्न र दुई प्रजाति सङ्कटको नजिक पुगेका थिए ।

    गिद्धको सङ्ख्या तीव्ररूपमा घटेपछि नेपाल, भारत र पाकिस्तानले सन् २००६ मा पशु उपचारमा डाइक्लोफेनेक प्रयोगमा प्रतिबन्ध लगाए ।

    बङ्गलादेशले भने सन् २०१० मा प्रतिबन्ध लगाएको थियो । त्यससँगै गिद्धका लागि सुरक्षित आहार उपलब्ध गराउने जटायु रेस्टुरेन्ट, बासस्थान संरक्षण तथा अन्य हानिकारक औषधिको प्रयोग न्यूनीकरणजस्ता कार्यक्रमले गिद्ध संरक्षणमा थप टेवा पुर्याएको हो ।

    हालै प्रकाशित अनुसन्धानमूलक वैज्ञानिक अध्ययनले नेपालमा दुर्लभ डङ्गर गिद्धको सङ्ख्या सन् २०१२–२०१३ पछि निरन्तर बढिरहेको देखाएको गिद्ध विज्ञ कृष्णप्रसाद भुसालको भनाइ छ ।

    अध्ययनअनुसार सन् २०१२ पछि नेपालमा डङ्गर गिद्धको सङ्ख्या औसतमा प्रतिवर्ष १२.७ प्रतिशतका दरले वृद्धि भएको छ ।

    यो वृद्धि सन् २०२५ सम्म पनि निरन्तर रहेको अनुसन्धानकर्ता तथा आइयुसिएन गिद्ध विशेषज्ञ समूह एसियाका सहअध्यक्षसमेत रहेका भुसालले बताए ।

    सडकमार्गमा नियमितरूपमा गिद्ध गणना गर्नुका साथै गुँडको निगरानी गरेर यस्तो निष्कर्ष निकालिएको हो ।

    भुसालका अनुसार गिद्धको सङ्ख्या घटिरहेको अवस्थालाई रोक्दै पुनःवृद्धि हुने अवस्थामा पुर्याउने नेपाल पहिलो मुलुक बनेको छ ।

    यस अध्ययनमा गिद्धको बाँच्ने दर पत्ता लगाउन स्याटेलाइट ट्यागसमेत प्रयोग गरिएको थियो ।

    कुल ७० वटा डङ्गर गिद्धलाई ट्याग लगाएर गरिएको अनुगमनमा वयस्क गिद्धको वार्षिक बाँच्ने दर करिब ९४.७ प्रतिशत र अल्पवयस्क गिद्धको बाँच्ने दर ९५.५ प्रतिशत रहेको पाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा अध्ययनका सहलेखक वेदकुमार ढकालले जानकारी दिए ।

    गिद्धको सङ्ख्या बढ्नुमा बाँच्ने दर मात्रै होइन, प्रजनन् सफलताले पनि महत्वपूर्ण भूमिका खेलेको अनुसन्धानले देखाएको छ ।

    नेपालमा सन् २००७ देखि गिद्धका गुँडको अनुगमन हुँदै आएको छ । सन् २००७ देखि २०२५ सम्म छ हजार चार सय दसवटा गुँडको अनुगमन गरिएकामा औसतमा करिब ६९ प्रतिशत गुँड सफल भएको नेपाल पन्छी संरक्षण सङ्घका गिद्ध संरक्षण कार्यक्रम प्रमुख अङ्कित विलाश जोशीले बताए ।

    समयसँगै गुँडको सफलता दरसमेत बढ्दै गएको छ । विशेषगरी सन् २०१३ देखि २०२५ सम्मको गिद्ध पुनरुत्थान अवधिमा प्रजनन सफलतामा सुधार देखिएको छ ।

    यसले नेपालमा गिद्धको सङ्ख्या बढ्नुमा उच्च बाँच्ने दरसँगै राम्रो प्रजनन्ले पनि महत्वपूर्ण योगदान गरेको पुष्टी गर्छ ।

    नेपालमा गिद्धको सङ्ख्या तीव्ररूपमा बढेपछि अनुसन्धानकर्ताकासामु अर्को प्रश्न खडा भएको थियो–के भारतबाट ठूलो सङ्ख्यामा गिद्ध नेपाल प्रवेश गरेकाले यहाँको सङ्ख्या बढेको हो ? ‘स्याटेलाइट ट्याग’ लगाइएका गिद्ध नेपाल र भारतबीच आवत-जावत गर्ने गरेको प्रमाण भेटिए पनि नयाँ अध्ययनले भारतबाट आएका गिद्ध नै नेपालको सङ्ख्या वृद्धिको मुख्य कारण नभएको देखाएको छ ।

    वैज्ञानिकले विभिन्न गणितीय मोडल प्रयोग गरी गरेको विश्लेषणमा सडक सर्वेक्षणबाट देखिएको गिद्धको वृद्धि र गिद्धको जन्म तथा बाँच्ने दरका आधारमा अपेक्षा गरिएको वृद्धि लगभग मिल्दोजुल्दो पाइएको थियो ।

    त्यसैले नेपालमा गिद्धको सङ्ख्या बढ्नुको मुख्य कारण नेपालमै जन्मिएका र यहाँ बाँचिरहेका गिद्धको राम्रो अवस्था भएको देखिएको छ ।

    गिद्ध संरक्षणमा चर्चित बनेका जटायु रेस्टुरेन्टले सुरक्षित आहार उपलब्ध गराउँदै महत्वपूर्ण भूमिका खेले पनि देशभर गिद्धको सङ्ख्या बढ्नुका कारण त्यसलाई मात्रै मान्न नसकिने अध्ययनले देखाएको छ ।

    जटायु रेस्टुरेन्ट आसपासका क्षेत्रमा मात्रै गिद्धको सङ्ख्या तीव्र गतिमा बढेको नभइ देशका अन्य क्षेत्रमा वृद्धि देखिएको छ ।

    यसले सुरक्षित आहार, औषधि नियन्त्रण, बासस्थान संरक्षण र समुदायको सहभागिता सहितको समग्र संरक्षण अभियानले सकारात्मक परिणाम दिएको सङ्केत गरेको छ ।

    गिद्ध संरक्षणमा नेपालले ऐतिहासिक सफलता हासिल गरे पनि गिद्ध सङ्कटबाट पूर्णरूपमा बाहिर आइसकेको अवस्था भने छैन ।

    नेपाल पन्छी संरक्षण सङ्घकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाका अनुसार अहिले गिद्धको सङ्ख्या बढिरहेको भए पनि सन् १९९० को दशकमा ठूलो गिरावट आउनुअघिको अवस्थाको तुलनामा सङ्ख्या अझै निकै कम छ ।

    अहिले प्राप्त सफलता जोगाउन संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।

    वैज्ञानिकहरूले हालै प्रतिबन्ध लगाइएका डाइक्लोफेनेक, निमेसुलाइड र किटोप्रोफेनजस्ता औषधि बजारमा उपलब्ध भए–नभएको नियमित अनुगमन गरी प्रयोग रोक्नुपर्ने सुझाव दिएका छन् ।

    भविष्यमा नयाँ पशु औषधि बजारमा ल्याउनुअघि त्यसले गिद्धमा पार्ने असरबारे परीक्षण गर्नुपर्ने उनीहरूको सुझाव छ ।

    गिद्ध प्रकृतिको महत्वपूर्ण सफाइकर्मी मानिन्छ । सिनो खाएर वातावरण सफा राख्ने भएकाले यसको संरक्षण मानव स्वास्थ्य र वातावरणीय सन्तुलनसँग पनि जोडिएको छ ।


    प्रकाशित : मंगलबार, कार्तिक १७ २०८३१०:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार