काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई रक्षा गर्दै जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको बताएका छन् । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सबै जनताको समान अधिकारका लागि आफूले दुई पटक संविधान संशोधन प्रस्ताव अघि बढाएको उल्लेख गरे ।
उनले एमालेको केपी ओली गुटका कारण कारण संविधान संशोधन हुन नसकेको बताउनुभयो । उनले अहिले पनि एमालेको केपी गुट मधेश, महिला, जनजाती लगाएत मुलुकको परिवर्तनको बिरोधी भएको टिप्पणी गरे ।
अध्यक्ष प्रचण्डले यसअघि पनि आफूहरुले प्रतिगमनलाई असफल बनाएको र परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालुवाटारबाट निकालेर बालकोट पुर्याएको स्मरण गरे ।
उनले भने, ‘जस्तोसुकै मूल्य चुकाएर भएपनि प्रतिगामीलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने छौं ।’ अध्यक्ष प्रचण्डले अब पार्टीलाई केन्द्रदेखि स्थानीय तहसम्म बलियो बनाउँदै लैजाने बताए । अहिले पार्टीको झण्डै ८ लाख क्रियाशील सदस्य पुगेको र छिट्टै १० लाख पुग्ने उनको भनाइ छ ।

