काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आग्रह गरेका छन् । २७ औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उनले देशका अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै माओवादी घटकलाई एकताबद्ध हुन आग्रह गरे ।
अध्यक्ष दाहालले परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गरेका छन् । परिवर्नतकारी क्रान्तिकारी शक्तिबीचको एकता भए मात्रै २७ औं जनयुद्ध दिवस मनाउनुको सबैभन्दा ठूलो अर्थ, महत्व र औचित्य रहने उनको भनाइ छ ।
नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको बताए ।
जनयुद्धको जगमा सम्पन्न ०६२/६३ को संयुक्त जनआन्दोलनपश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा संस्थागत भएको जनाउँदै उहाँले संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुईमत हुनै नसक्ने बताएका छन् ।
देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको भन्दै अध्यक्ष दाहालले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक÷शुभचिन्तक आम जनसमुदायलाई एकताबद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपिल गरेका छन् ।
अध्यक्ष दाहालले जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिमा जनयुद्धका उपलब्धि एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढ्न विशेष अनुरोध गरेका छन् ।
परिवर्तनका निम्ति जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले जनयुद्धका क्रममा बेपत्ता पारिएका योद्धा, घाइते योद्धा र उनीहरुका परिवारजनप्रति सम्मान प्रकट गरेका छन् ।

