चितवन । स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्र थप गर्न आग्रह गरेको छ । विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा जिल्लामा १६१ मतदानस्थल र ३७६ मतदान केन्द्र थिए । अहिले मतदान केन्द्र थप गरी ४६१ पुर्याउन आग्रह गरिएकाे कार्यालयका प्रमुख भीमसेन कार्कीले बताए ।
भरतपुर महानगरपालिकामा २०५, रत्ननगर नगरपालिकामा ६१, खैरहनी नगरपालिकामा ५७, कालिका नगरपालिकामा ३७, राप्ती नगरपालिकामा ४७, माडी नगरपालिकामा ३२ र इच्छाकामना गाउँपालिकामा २२ मतदान केन्द्र बनाउन कार्यालयले आयोगलाई सिफारिस गरेको छ । जिल्लामा तीन लाख ९८ हजार ७७१ मतदाता छन् ।
विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा तीन लाख १३ हजार तीन मतदाता थिए । मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्र थप गर्न लागिएको हो । निर्वाचनको तयारीस्वरुप कार्यालयले यही चैत १५ गते जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।
सदरमुकाममा प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहने छ भने अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने छ । निर्वाचनका लागि कार्यालयले कर्मचारी माग गर्न थालेको छ । एउटा मतदान केन्द्रमा सातदेखि आठ जनाको दरले कर्मचारी परिचालन गरिने छ ।

