२०८३, कार्तिक १५ गते आइतबार

अध्यादेश जारी भएसँगै रेल सञ्चालनको तयारी, देउवा र माेदीले संयुक्तरूपमा उद्घाटन गर्ने

अध्यादेश जारी भएसँगै रेल सञ्चालनको तयारी, देउवा र माेदीले संयुक्तरूपमा उद्घाटन गर्ने


  • मेरोभ्यूज
  • चैत्र ९, २०७८ बुधबार

  • अध्यादेश जारी भएसँगै रेल सञ्चालनको तयारी,  देउवा र माेदीले संयुक्तरूपमा उद्घाटन गर्ने

    जनकपुर । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो ।

    यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सङ्घीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो । संसद् अधिवेशन अन्त्य भएसँगै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले मङ्गलबार पुनः रेल्वे अध्यादेश जारी गरेपछि रेल सञ्चालन गर्ने बाटो खुलेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । 

    रेल्वे अध्यादेश जारी भइसकेकाले अबको केही दिनभित्रै रेल सेवा उद्घाटनको मिति तय हुने उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भइरहेको महाप्रबन्धक झाले बताए ।

    “अध्यादेश निस्क्रिय भएपछि रेल सेवा सञ्चालन गर्न कठिनाइ भएको थियो”, उनले भने, “अध्यादेश पुनः जारी भएपछि बाटो खुलेको छ ।” गत फागुन १ गतेदेखि जयनगर–जनकपुरसम्म यात्रुविहीन रेल दैनिक एकपटक सञ्चालन भइरहेकामा अहिले एक महिनामा १५ दिनमात्र चल्न थालेको छ ।

    “प्राविधिकरूपमा सबै तयारी भइसकेको छ, कर्मचारी नियुक्त भएर काममा खटिएका छन्”, महाप्रबन्धक झाले भने, “भाडादर पनि निर्धारण भइसकेको छ ।” जनकपुर–कुर्था–जयनगरसम्म सामान्यतर्फ प्रतियात्रु रु ७० र वातानुकुलित सिटमा रु ३०० भाडा निर्धारण गरिएको छ ।


    प्रकाशित : बुधबार, चैत्र ९ २०७८०७:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार