२०८३, कार्तिक १५ गते आइतबार

चीनद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण

चीनद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण


  • मेरोभ्यूज
  • चैत्र १२, २०७८ शनिबार

  • चीनद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण

    कास्की । चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको छ । चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज साँझ राजधानी काठमाडौँ र निर्माणस्थल पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच विमानस्थल हस्तान्तरण गरिएको हो ।

    काठमाडौँमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चीनका परराष्ट्रमन्त्री यीले परराष्ट्रमन्त्री नारायण खड्कालाई विमानस्थलको चाबी हस्तान्तरण गरे । पोखरामा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थल निर्माण सम्पन्न गरेकामा चिनियाँ कम्पनी सिएएमसीइका अध्यक्ष लु यानलाई कदरपत्रद्वारा सम्मान गरे ।

    चीनको एक्जिम बैंकको  २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा निर्माण गरिएको सो विमानस्थलको मुख्य निर्माण र जडानको कार्य सम्पन्न भएपछि हस्तान्तरण गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनंकर्मीले जानकारी दिए ।

    उनका अनुसार विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न भएकाले बाँकी कार्य पनि निरन्तर सञ्चालन हुनेछ । विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत १४ भवन, ट्याक्सी वे लगायतका मुख्य काम सम्पन्न भएको छ । बाँकी काम निर्माण कम्पनीले निर्धारित समयमा पूरा गर्ने जनाइएको छ ।

    विमानस्थल सन् २०२१ जुलाई १० भित्रमा काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता भएपनि कोरोना सङ्क्रमणका कारण निर्माण कार्य प्रभावित भएपछि एक वर्ष म्याद थपिएको थियो । मन्त्री आलेले विमानस्थल छिट्टै सञ्चालनमा ल्याइने बताए । सरकारले आवश्यक तयारी पूरा गरेर आगामी ६ महिनाभित्रमा सञ्चालनमा ल्याउने उनले जानकारी दिए । मन्त्री आलेले भने, “आजको कार्यक्रमले पोखराको विमानस्थल सम्पन्न भयो भन्ने सन्देश दिएको छ । अब यहाँका पर्यटन व्यवसायीलाई पर्यटनमा लगानी गर्न यसबाट सन्देश प्रवाह भएको छ ।”

    विमानस्थलको काम सम्पन्न भएकाले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ, गल्फलगायत क्षेत्रमा लगानी र पूर्वाधार निर्माण गर्नुपर्नेमा मन्त्री आलेले जोड दिए । पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सरकारले कामअघि बढाएको उनले उल्लेख गरे ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारीले विमानस्थल निर्माणको मुख्य काम सकिए पनि केही समस्या बाँकी रहेको बताए । रिठेपानी डाँडा कटानको काम अघि बढाउन पुरक वातावरणीय प्रतिवेदन स्वीकृतिको चरणमा रहेको उनले जानकारी दिए ।

    सिएएमसीइका अध्यक्ष यानले अत्याधुनिक विमानस्थल निर्माण भएको भन्दै यसको शिलान्यास र कार्य सम्पन्न समारोहमा उपस्थित हुन पाउँदा गौरव लागेको बताए । पोखरा र यस क्षेत्रको आर्थिक विकास र समृद्धिमा विमानस्थलले योगदान दिने उनको भनाइ थियो ।


    प्रकाशित : शनिबार, चैत्र १२ २०७८०९:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार