चितवन । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला जिल्लामा एमाले इतरकाे गठबन्धन बन्ने क्रम तीव्र भएकाे छ । निकै चासाे र चर्चाका साथ हेरिएकाे चितवन जिल्लामा पनि सत्ता गठबन्धनबीच स्थानीय निर्वाचनमा सबै पालिकामा चुनावी तालमेल गर्ने सहमति भएकाे छ ।
नेपाली कांग्रेसका चितवन सभापति राजेश्वर खनालकाे अध्यक्षतामा साेमबार बसेकाे पाँच दलीय गठबन्धनकाे बैठकले जिल्लाका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा चुनावी तालमेल गरेर जाने निर्णय गरेको हाे ।
बैठकले स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरिएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र) चितवनका संयोजक रामचन्द्र अधिकारी, नेकपा (एकीकृत समाजवादी)का ईन्चार्ज कृष्ण खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्वर पुरीले हस्ताक्षर गरेका छन् ।
बैठकले सातवटै पालिकामा गठबन्धनका दलहरुबीच बैठक बसी संयुक्त संयन्त्र निर्माण गरी छलफल प्रकिया अगाडि बढाउने, आपसमा सम्ममान र हार्दिकताको विकास गर्दै चुनावमा सहभागी हुने र दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १ /१ जना रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको माओवादी केन्द्रका चितवन इन्चार्ज रामचन्द्र अधिकारीले जानकारी दिए ।


