२०८३, कार्तिक १५ गते आइतबार

दलहरुको आपत्तिपछि आयोगले भन्यो– आचारसंहितालाई थप स्पष्ट पार्न तयार छौं

दलहरुको आपत्तिपछि आयोगले भन्यो– आचारसंहितालाई थप स्पष्ट पार्न तयार छौं


  • मेरोभ्यूज
  • चैत्र २४, २०७८ बिहीबार

  • दलहरुको आपत्तिपछि आयोगले भन्यो– आचारसंहितालाई थप स्पष्ट पार्न तयार छौं

    काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा जारी निर्वाचन आचारसंहितामा कुनै अष्पष्टता भए स्पष्ट पार्न तयार रहेको जनाएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले प्रस्तावित निर्वाचन आचारसंहिताका केही प्रावधानका बारेमा दलहरुले आग्रह गरे स्पष्ट पार्न तयार रहेको बताए ।

    प्रमुख प्रतिपक्षीलगायत केही दलले निर्वाचन आचारसंहिताका केही बुँदाप्रति असहमति जनाएका छन् । आचारसंहिताको पूर्ण पालनाबाट मात्रै स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न हुने उल्लेख गर्दै उनले दलहरुबाट पनि आचारसंहिताको पूर्णपालना गर्ने प्रतिबद्धता व्यक्त भइरहेको जानकारी दिए ।

    आयोगले यही चैत २२ गते स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धमा निर्वाचनमा भाग लिने दलहरुबाट प्रतिबद्धता लिनेसम्बन्धी बैठक सम्पन्न गरेको थियो । “केही राजनीतिक दलहरुले सोही बैठकमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभयो”, उनले भने, “केहीले अहिले आयोगमा आएर प्रतिबद्धता दिँदै हुनुहुन्छ ।”

    निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन आयोगले सुक्ष्म अनुगमनकर्तामार्फत निगरानी गर्ने तयारी गरेको छ । केन्द्रदेखि नै जिल्लास्तरमा संयन्त्र बनाएर अनुगमन गरिने सहप्रवक्ता अर्यालले बताए । “माथिदेखि नै जिल्लास्तरसम्म पनि संयन्त्र बनाएर आचारसंहिताको उल्लङ्घन भए÷नभएको अनुगमन गर्दैछौँ”, उनले भने, “केन्द्रीयस्तरमा सचिव, सहसचिवको नेतृत्वमा टोली बनाएर अनुगमन गर्ने व्यवस्था गरेका छौँ, जिल्लास्तरमा जिल्ला निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायत पदाधिकारीबाट अनुगमन हुनेछ ।”

    निर्वाचन अधिकृतलाई प्रशिक्षण प्रदान गर्न बुधबार निर्वाचन व्यवस्थापन तथा सञ्चालन मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको आयोगले जनाएको छ । मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागीले यही चैत ३० र आगामी वैशाख २ गते प्रदेशस्तरमा आठ स्थानमा मुख्य निर्वाचन अधिृकत, निर्वाचन अधिकृत र निर्वाचन अधिकारीलाई प्रशिक्षण गर्नेछन् । 

    आयोगले विभिन्न कारण देखाएर निर्वाचन अधिकृतका रुपमा जान नसक्ने ७१ जनालाई सो जिम्मेवारीबाट हटाइएको र थप नयाँ ७१ कर्मचारीलाई निर्वाचन अधिकृतका रुपमा नियुक्त गरिएको जनाएको छ । निर्वाचनको पर्यवेक्षण गर्ने संस्थाहरुले अनलाइनबाटै आयोगमा सूचीकृत गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै उनले यही चैत २७ गतेभित्र सूचीकृत हुने संस्थालाई पर्यवेक्षकका रुपमा अनुमति दिइने बताए । 


    प्रकाशित : बिहीबार , चैत्र २४ २०७८०६:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार