२०८३, कार्तिक १५ गते आइतबार

पञ्चेबाजाले गुञ्जियो निर्वाचन अधिकृतको कार्यालय

पञ्चेबाजाले गुञ्जियो निर्वाचन अधिकृतको कार्यालय


  • मेरोभ्यूज
  • बैशाख १२, २०७९ सोमबार

  • पञ्चेबाजाले गुञ्जियो निर्वाचन अधिकृतको कार्यालय

    काठमाडाैं । स्थानीय निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्ने पहिलो दिन आइतवार सुनसान प्रायः रहेको प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहको माहोल सोमवार एकाएक बदलियो । केही साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आइतवार नै उम्मेदवारी दर्ता गराएका भए पनि ठूला दलहरूले आज मध्याह्नपछि मात्र बजागाजा र दलबलसहित आआफ्नो उम्मेदवारको मनोनयन दर्ता गराए । 

    स्थानीय शान्ति बाटिकाबाट पञ्चेबाजासहित शुरू भएको राजनीतिक दलहरुको दलबल नाराजुलुसका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान सभागृह पुगेको थियो । दलबलसहित आएका उम्मेदवार बाजागाजा सभागृहको प्रवेशद्वार बाहिरै छाडेर उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरे । 

    Sirjana_Sing_Kathmandu_Mayor_Candidate2.jpg

    सत्ता गठबन्धनका तर्फबाट कामपाको प्रमुखमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गराइन् । उनको प्रस्तावकमा कामपाका उपप्रमुख हरिप्रभा खड्गी र समर्थकमा नीलकाजी शाक्य रहेका छन् । सिंह नेपाली कांग्रेसकी नेत्री हुन् ।

    उपप्रमुखमा गठबन्धनकै साझा उम्मेदवार नेकपा एकीकृत समावजादीका नेता रामेश्वर श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराए । श्रेष्ठको प्रस्तावकमा प्रवेशमान बज्राचार्य र समर्थकमा भीमसेन खतिवडा ‘विष्णु’ छन् ।

    त्यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेका तर्फबाट प्रमुखमा देवेन्द्र खड्गीको समर्थनमा केशव स्थापितले मनोनयन दर्ता गराएका थिए । उनीसँगै उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले पनि मनोनयन दर्ता गराए । डङ्गोलको प्रस्तावकमा अजयक्रान्ति शाक्य र समर्थकमा सञ्जित डंगोल छन् । स्थापित यसअघि विक्रम संवत् २०५४ सालको स्थानीय निर्वाचनमा प्रमुखमा विजयी भइसकेका थिए । बागमती प्रदेशसभा सदस्यका रूपमा रहँदारहँदै उनले कामपाको प्रमुखमा उम्मेदवारी दिन प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए ।

    राप्रपाका तर्फबाट कामपाको प्रमुखमा कलाकार मदनदास श्रेष्ठले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन कार्यालयमा अहिले साँझसम्म कामपाको प्रमुखमा ४१ र उपप्रमुखमा २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    गृहणी भत्ता, बालबाटिका निर्माण उम्मेदवारका प्रतिबद्धता

    यसअघिका जनप्रतिनिधिले सल्ट्याउन नसकेको उपत्यकाका फोहर व्यवस्थापन, काठमाडौँको यातायात व्यवस्थापन, स्वास्थ्य, शिक्षा र रोजगारी नै अहिलेका उम्मेदवारले प्रतिबद्धताका रुपमा अघि सारेका छन् । आफ्नो उम्मेदवारी दर्तापछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै सत्ता गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार सिंहले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरिन् ।

    Sirjana_Sing_Kathmandu_Mayor_Candidate.jpg

    गठबन्धनबाट उपप्रमुखका उम्मेदवार बनेका श्रेष्ठले उपत्यकाको फोहरलाई मोहरमा बदल्ने प्रतिबद्धता व्यक्त गरे । यसअघिका जनप्रतिनिधिले सल्ट्याउन नसकेको उपत्यकाको फोहर व्यवस्थापनको कार्य वैज्ञानिक तबरले समाधान गरिने उल्लेख गर्दै उनले भने, “फोहर प्रशोधन केन्द्र स्थापना गर्नेछौँ, ट्रकमा हालेर फोहर बाहिर लैजाने अवस्थाको अन्त्य गर्नेछौँ, प्रशोधन केन्द्रमार्फत फोहरलाई मोहरमा बदल्नेछौँ ।”

    काठमाडौँ महानगरलाई दीगो व्यवस्थित सहरका रुपमा विकास गर्ने, रोजगारीका लािग विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने, माध्यमिक शिक्षा निःशुल्क, रोजगरामूलक शिक्षा प्रदान गर्ने, भाषा, जातजाति, कला संस्कृतिको संरक्षण गरिने उनले बताए। उनले आफ्नो प्रतिबद्धता नागरिकको आशाअनुरुप भएकाले कार्यान्वयन गर्न तत्पर रहेको बताए।

    Keshab_Stahapit_Kathmandu_Mayor_Candidate.jpg

    एमालेकातर्फबाट प्रमुखका उम्मेदवार स्थापितले महानगरको शिक्षा सुधार गर्ने, बस्तीको व्यवस्थित गर्ने, ट्राफिक व्यवस्थापन सहज बनाउने र सहरी पूर्वाधार विकासमा जोड दिए। सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न गर्ने, नेपालकै पूरानो क्याम्पसका रुपमा रहेको त्रिचन्द्र बहुमुखी क्याम्पसलाई प्राज्ञिक थलोका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    Sunita_Dangol_Kathmandu_Depury_Mayor_Candidate1.jpg

    एमालेका उपप्रमुखका उम्मेदवार सुनिता ड¬ङ्गोलले युग परिवर्तनका लागि युवा र महिलाको प्रतिनिधित्व गर्दै आफूले मनोनयन दर्ता गराएको उल्लेख गर्दै काठमाडौँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने बताइन् ।

    Madandas_Shrestha_Kathmandu_Mayor_Candidate.jpg

    राप्रपाका तर्फबाट कामपाको प्रमुखमा उम्मेदवार दिनुभएका मदनदास श्रेष्ठले भ्रष्टाचारमुक्त महानगर बनाउने बताए । महानगरमा ज्येष्ठ नागरिक र बाल बाटिका निर्माण गर्ने, माध्यामिक शिक्षा निःशुल्क गर्ने, काठमाडौँलाई बसोबासका लागि उपयुक्त सहर बनाउने, अव्यवस्थित बसोबासका समस्यमा समाधान गर्ने र युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याइने बताए । रासस


    प्रकाशित : सोमबार, बैशाख १२ २०७९०९:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार