काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि एक लाख ४७ हजार २७४ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश नं १ मा २२ हजार ५४२, मधेसमा ३८ हजार ७८७, बागमतीमा २४ हजार ३३, गण्डकीमा १३ हजार ४०३, लुम्बिनीमा २३ हजार ४९, कर्णालीमा १३ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ६७३ जनाको उम्मेदवारी परेको छ ।
नगरपालिकाको प्रमुखमा तीन हजार ४३० र उपप्रमुखमा दुई हजार ९७ को उम्मेदवारी दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा तीन हजार ३६३, उपाध्यक्षमा दुई हजार ३८२ र वडाध्यक्षमा ३४ हजार ३५७ को मनोयन दर्ता भएको छ । २५ हजार ३४५ महिला सदस्य, २२ हजार ८९९ महिला दलित सदस्य र ५३ हजार ४०१ सदस्यको मनोनयन दर्ता भएको छ ।
सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कुल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।
आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरुपमा मनोनयन दर्ता भएका थिए । वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

