काठमाडौं । काठमाडौँको पश्चिमी भेगमा रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले १३ औँ वार्षिकोत्वसको अवसर पारेर ‘हसना भास्तिपुर’ मासिक खबर पत्रिका प्रकाशनमा ल्याएको छ । मासिक रुपमा प्रकाशन हुने सो खबर पत्रिकामा सहकारीका प्रगति विवरण, मासिक गतिविधि, सहकारीसम्बन्धी समाचार, ऐन कानून, विचार, लेख, अन्तरर्वार्तालगायतका सामग्री समावेश गरिने सम्पादक रामलाल श्रेष्ठले बताए ।
सहकारीले शुक्रबार आयोजना गरेको वार्षिकोत्सवक कार्यक्रममा खेलकुद प्रतियोगितामा विजयी भएका खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सहकारीले आफ्नो मूल्य र मान्यताभित्रै रहेर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । सहकारीका अध्यक्ष नारायणकृष्ण महर्जनले छोटो समयमा जनताको मन जित्न सफल रहेको बताए । चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा प्रधान कार्यालय रहेको सो सहकारीको दुई वटा सदस्य सेवा कार्यालय रहेको छ ।

सो अवसरमा नवनिर्वाचित वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन, महिला सदस्य अन्जु नेपाल पंगेनी, दलित महिला सदस्य सरिना रोका, वडा सदस्य अञ्जित सापकोटा र प्रदिप अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष दीपक पनेरु, खुसीखुसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बटुककृष्ण थापा, बलम्बुका द्वारे पूर्णबहादुर महर्जनलगायतको उपस्थिति थियो ।

