२०८३, कार्तिक ११ गते बुधबार

जोमसोम-कागबेनी सडक स्तरोन्नती

जोमसोम-कागबेनी सडक स्तरोन्नती


  • मेरोभ्यूज
  • श्रावण १२, २०८३ मंगलबार

  • जोमसोम-कागबेनी सडक स्तरोन्नती

     

    मुस्ताङ । कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तर-दक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी खण्डको स्तरोन्नति शुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिब सात करोड लागतमा जोमसोम-कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नती शुरु गरेको हो ।

    राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत वि.सं. २०७६ अघि निर्माण सम्पन्न भइसकेको जोमसोम-कोरला खण्डअन्तर्गत पहिलो खण्डको जोमसोम-कागबेनी कालोपत्र सडक वर्षा, पहिरोलगायतका कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तरोन्नति थालिएको हो ।

    उक्त सडकको केही स्थानमा गत वर्षको साउन महिनामा सडक भाँसिएको, कतिपय स्थानमा सडक संरक्षणका लागि ड्रेन र सडक वाललगायतका पूर्वाधार तयार नहुँदा संरचनामा क्षति पुगेको आयोजना कार्यालयले जनाएको छ ।

    कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार कोरला नाका र मुक्तिनाथ जोड्ने जोमसोम-कागबेनी सडक स्तरोन्नतिका लागि करिब रु. सात करोड लागतमा ठेक्का भइ सडक स्तरोन्नती शुरु भएको जानकारी दिए ।

    कोरला जोड्ने सडकलाई दीर्घकालीन बनाउन जोमसोम-कागबेनी कालोपत्र सडकको संरक्षण तथा स्तरोन्नतिका लागि ठेक्का सम्झौता भइ काम अघि बढिसकेको उनले बताए ।

    आयोजना प्रमुख शर्माका अनुसार जोमसोम-कागबेनी सडक स्तरोन्नतिका लागि कालिमाता-थापाकाजी-रसुवा जेभी कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको छ ।

    चालु आर्थिक वर्षको वैशाखमा ठेक्का सम्झौता भएको जोमसोम-कागबेनी सडक स्तरोन्नती जेठको पहिलो हप्तादेखि शुरु गरिएको निर्माण कम्पनीका स्थलगत इन्चार्ज सिताराम थापाले जानकारी दिए ।

    चार महिनाको सम्झौता अवधि रहेको उक्त सडक स्तरोन्नती भदौ १५ गतेसम्ममा सम्पन्न गर्नुपर्ने उनले उल्लेख गरे । कागबेनीबाट सडक स्तरोन्नतिको काम शुरु गरिएको उनको भनाइ छ ।

    जोमसोम-कागबेनीअन्तर्गत नौ किलोमिटर दूरीमा एक हजार आठ सय घनमिटर ग्याभियन वाल, तीन हजार पाच सय घनमिटर मेसिनरी वाल, दुई सय घनमिटर प्लम्प कङ्क्रिट, नौं सय घनमिटर आरसीसी ढलानलगायत कार्य गरिने आयोजना कार्यालयले जनाएको छ ।

    जोमसोमबाट माथि एक किलोमिटर दूरीमा वर्षाका कारण सडक भाँसिएर क्षति भएकाले उक्त स्थानमा सडक संरक्षणका लागि ग्याभियन वाल लगाउने कार्य गरिने छ ।

    जोमसोम-कागबेनीखण्डको पान्डाखोला पुलको उत्तरतर्फ पुलसँगै आरसीसी ढलान गरिने छ । साथै सडकको ड्रेन र प्रोटेक्सन वाल नभएका स्थानमा ड्रेन निर्माण र मेसिनरी वाल लगाइने स्थलगत इन्चार्ज थापाले जानकारी दिए ।


    प्रकाशित : मंगलबार, श्रावण १२ २०८३०८:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार