२०८३, कार्तिक ११ गते बुधबार

छपनी ढुङ्गा बिछ्याएर ढलको नाला ढलान

छपनी ढुङ्गा बिछ्याएर ढलको नाला ढलान


  • मेरोभ्यूज
  • आषाढ २८, २०८३ आइतबार

  • छपनी ढुङ्गा बिछ्याएर ढलको नाला ढलान

     

    म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा छपनी ढुङ्गा बिछ्याएर गरिएको ढलको नाला ढलान भत्काइएको छ ।

    धौलागिरि गाउँपालिकाले सञ्चालन गरेको गुर्जाखानी छन्त्याल बस्ती पूर्वाधार योजनामा निर्माण व्यवसायीले त्रुटी गरेको भेटिएपछि भत्काएर पुन:निर्माण गर्न लगाइएको हो ।

    जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडाध्यक्ष झक छन्त्यालको टोलीले उक्त योजना अनुगमनका क्रममा मापदण्ड, ठेक्का सम्झौता र डिजाइनभन्दा फरक काम भएको पहिचान गरेको थियो ।

    गाउँपालिकाका उपाध्यक्ष पुनमगरले स्थानीयको गुनासोपछि अनुगमनका क्रममा त्रुटी भएको नालाको खण्ड भत्काएर पुन:निर्माण गर्न लगाएको जानकारी दिए ।

    रड र फर्मा राखेर ढलान गर्नुपर्नेमा नालाको ढकनीमा ढुङ्गाको छपनी राखेपछि गिट्टी, बालुवा र सिमेन्ट राखेर ढलान गरेको भेटिएपछि करिब २० मिटर नाला भत्काएर पुन:निर्माण गराएको उनले बताए ।

    सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रु. २५ लाख विशेष अनुदान उपलब्ध गराएको उक्त योजना निर्माणका लागि एसके कन्ट्रक्सनले २०८२ माघमा रु. २२ लाख ९९ हजार छ सय छमा ठेक्का सम्झौता गरेको थियो ।

    दुई सय ६० मिटर पक्की नाला निर्माण गर्नुपर्ने योजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण कम्पनीका स्थानीय प्रतिनिधि कमल छन्त्यालले मजदूरहरूले काम गर्ने क्रममा डिजाइन नबुझेर छपनीमा ढलान गरेको स्वीकार गर्दै कमजोरीलाई सुधार गरिएको बताए ।

    गुर्जा र चुरेन हिमालको फेदीमा समुन्द्री सतहदेखि दुई हजार सात सय मिटर उचाइमा रहेको गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायका दुई सय ६० घरपरिवारको बसोबास रहेको छ ।

    गुजमुज्ज बाक्लो बस्ती रहेको गुर्जामा ढल व्यवस्थापन गरी सरसफाइ कायम गराउन आयोजना सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पुनले बताए ।


    प्रकाशित : आइतबार, आषाढ २८ २०८३१०:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार