काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज पत्रकार सम्मेलन गर्दै उनले आसन्न १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् । महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उनले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गरे । उनले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उम्मेदवारी घोषणा भएको बताए ।
नेता थापाले विसं २०७८ पछि पार्टीको कार्यदिशा कस्तो हुने भनेर कांग्रेसका कार्यदिशासहितको अवधारणा पत्र सार्वजनिक गरेकाे बताए । पार्टी पुनःजागरण र रूपान्तरणका लागि प्रस्तावित कार्यदिशा अघि सार्दै उनले आफू कांग्रेसको महामन्त्री कुर्सीमा मात्र बस्ने नभई कांग्रेसको कार्यदिशाको प्रस्तावक पनि भएकाे जिकिर गरे ।
“कांग्रेसको महामन्त्री केवल कुर्सीमा बस्ने मात्र होइन, कांग्रेसको राजनीतिक लाइन र कार्यदिशाको प्रस्तावक पनि हो । पार्टीको लाइनको, कार्यदिशाको प्रस्तावक पनि हो । महामन्त्रीको कुर्सी कुनै बेला गणेशमान सिंह, सूर्यप्रसाद श्रेष्ठ, गिरिजाप्रसाद कोइराला बसेको कुर्सी हो”, उनले भने ।
समुन्नत नेपाल कुनै गन्तव्य नभएको भन्दै यो निरन्तरको यात्रा हुने पनि उनले बताए । कांग्रेसले समुन्नत नेपाल र सम्मानित नेपाली कार्यदिशामा अघि बढेपछि पार्टी आफैँ बलियो बन्ने र नागरिक पार्टीमा जोडिँदै आउने उनकाे भनाइ छ ।
“समुन्नत नेपाल कुनै गन्तव्य हैन यो निरन्तरको यात्रा हो । अबको पाँच वर्षपछि नेपाल कति सम्मुनत बन्यो, समृद्धि हासिल गर्यो समीक्षा गर्नुपर्ने हुन्छ । जनताको दैनिकी र जीवन पद्धति बदलिए मात्रै समृद्धिको आभास हुन्छ” नेता थापाले भने, “हाम्रो राजनीतिक कार्यदिशा सामाजिक लोकतन्त्रको हो । सामाजिक लोकतन्त्रको सैद्धान्तिक कार्य प्रणालीले उदार लोकतन्त्रको अभ्यास गर्छ । निर्वाचित सरकार जवाफदेहिता हुनुपर्छ, संविधानले दिएको कुरा उल्लङ्घन गर्दैन सामाजिक लोकतन्त्रले समानतालाई मूल मन्त्र मान्दछ । महिला, दलित अल्पसङ्ख्यकलगायतको सवाललाई उजागर गर्छ ।”
उनले गौरवशाली इतिहास मात्र होइन सुनौलो भविष्यको सपनालाई साकार पार्ने योजना, साहस, समर्पण भएको पुनःजागृत कांग्रेसले मात्रै मुलुकले सामना गरिरहेका यावत चुनौतीलाई सहजतापूर्वक सामना गर्दै लोकतान्त्रिक संविधानका उपलब्धिलाई संस्थागत गरेर सामाजिक लोकतन्त्रको सैद्धान्तिक जगमा समुन्नत नेपाल, सम्मानित नेपालीको परिकल्पनालाई साकार पार्न सक्ने धारणा राखे ।

