२०८३, कार्तिक १५ गते आइतबार

प्रचण्डकाे दाबी - चुनावपछि बाबुरामसँग एकता

प्रचण्डकाे दाबी - चुनावपछि बाबुरामसँग एकता


  • मेरोभ्यूज
  • भाद्र ३, २०७९ शुक्रबार

  • प्रचण्डकाे दाबी - चुनावपछि बाबुरामसँग एकता

    गाेरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता हुने बताएका छन् । नेपाल जेसिजको क्षेत्र (ख) सम्मेलनको उद्घाटन गर्न आज गोरखा आइपुगेका उनले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै निर्वाचनपछि नेसपासँग एकता हुने बताए ।

    उनले डा भट्टराई र आफू फेरि एकै ठाउँमा उभिने कुरा निकै महत्वको कुरा रहेको उल्लेख गरे । ‘निर्वाचनमा अब हामीले को कहाँबाट उठ्ने भन्ने टुङ्ग्याएको छैन’, अध्यक्ष प्रचण्डले भने, ‘बाबुराम जी र हामी फेरि एक पटक हसियाँ हथाैडामा चुनाव लड्ने भइयो, फेरि एकै ठाउँमा उभिने भइयो यो नै विशेष महत्वको कुरा हो ।’

    उनले चुनावपछि पार्टी एकताको प्रवल सम्भावना रहेको भन्दै नेसपा बाहेकका अन्य कम्युनिष्ट पार्टीबीच पनि एकता हुनसक्ने बताए । ‘नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि एकताका लागि छलफल सुरु गरिसकेको भन्दै उनले सच्चा कम्युनिष्ट पार्टीबीचको एकता सम्भव रहेको बताए । 

    फरक प्रसंगमा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा सत्तारुढ दलहरु बीच गठबन्धन गरेर जाने कुरामा कुनै दुविधा नरहेको जिकिर गरे । उनले गठबन्धनका दलहरुबीच न्यायोचित हिसाबले सिट बाँडफाट समेत हुने बताए । ‘सिट बाँडफाँडका लागि गठित कार्यदलले लगातार काम गरिरहेको छ’, उनले भने, ‘कार्यदलमा मिल्ने दिशातर्फ नै छलफल भइरहेको छ, जटिल समस्या देखापरेको छैन ।’

    केही दिनभित्रै कुन दलले कति सिट प्राप्त गर्ने भन्ने बारेमा टुङ्गो लाग्ने उनले बताए ।  सिट संख्या कुन दलले कति पाउने भन्ने बारेमा निर्धारण भएपछि कुन क्षेत्रमा कसले लड्ने भन्ने विषयमा समेत छिट्टै टुङ्गो लाग्ने उनको भनाइ छ । ‘स्थानीय तहमा जस्तो अन्तिम समयमा सिट बाँडफाँड टुङ्ग्याउने काम यो पटक हुँदैन’, अध्यक्ष प्रचण्डले भने, ‘हतारो र चटारोमा टुङ्ग्याउने अनि टुङ्गी सकेपछि आकांक्षीलाई सम्झाउन पनि नभ्याउने अवस्था अहिले हुँदैन ।’


    प्रकाशित : शुक्रबार, भाद्र ३ २०७९०८:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार