२०८३, कार्तिक १३ गते शुक्रबार

आम्दानीको बलियो स्रोत भुइँकटहर खेती

आम्दानीको बलियो स्रोत भुइँकटहर खेती


  • मेरोभ्यूज
  • श्रावण ३०, २०८१ बुधबार

  • आम्दानीको बलियो स्रोत भुइँकटहर खेती

    नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका-५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् । स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् ।

    पहाडी क्षेत्रअन्तर्गत पर्ने यो गाउँका किसानका लागि भुइँकटहर आम्दानीको बलियो स्रोत बनेको छ । बन्दीपुरका तुलबहादुर फालमगरले करिब तीन हेक्टर पहाडी पाखोमा भुइँकटहर लगाएका छन् ।

     गत वर्ष खर्च कटाएर रु दुई लाख ५० हजार आम्दानी गरेका उनले यस वर्ष भुइँकटहर राम्रो भएकाले रु तीन लाख बढी आम्दानी हुने बताए । “गत वर्षभन्दा यस वर्ष राम्रो भुइँकटर फलेको छ, भाउ पनि राम्रो छ, यसपालि आम्दानी बढ्ने देखिएको छ”, उनले भने ।

    भुइँकटरलाई वर्षमा एकपटक मात्र गोडमेल गरे पनि राम्रो आम्दानी लिन सकिने उनको अनुभव छ । रेखदेख राम्रो गरे फल पनि राम्रो लाग्ने उनले बताए । अन्य बाली लगाउँदा खासै केही नहुने पहाडी पाखोमा भुइँकटर आम्दानीको बलियो स्रोत बनेको उनले बताए ।

     “यस पाखोमा अरु लगाएर खासै केही हुँदैनथ्यो, भुइँकटहरले राम्रो आम्दानी दिएको छ, माग पनि राम्रो छ”, तुलबहादुरले भने । अहिले भुइँकटर प्रतिगोटा रु ५५ देखि रु एक सयसम्ममा बिक्री गर्ने गरेको उनले बताए । भुइँकटर लिन व्यापारीहरू गाउँमै आउने गरेको उनले बताए ।

     पहिले बन्दीपुरसम्म यातायातको सुविधा नहुँदा डोकोमा स्थानीय बजार पुर्याउनु पर्ने बाध्यता रहेकोमा अहिले त्यो बाध्यता हट्नाले थप सुविधा भएको अर्का किसान होमबहादुर दिसुवाले बताए । गत वर्षसम्म बन्दीपुरसम्म यातायातको पहुँच नहुँदा बर्खामा भुँइकटहर बजार पुर्याउन समस्या हुने गरेकोमा अहिले कालोपत्र सडक गाउँ पुग्दा बजारीकरणमा सुविधा भएको उनले जानकारी दिए ।

    गण्डकी प्रदेश सरकारको लागनीमा मुण्डे-कीर्तिपुर-बन्दीपुर सडक कालोपत्र भएपछि उत्पादन भएको भुइँकटर नारायणगढ, बुटवल, भैरहवासम्मका व्यापारीले गाउँमै आएर खरिद गरी लैजाने गरेको उनले जानकारी दिए ।

    बन्दीपुरका करिब ४० घरपरिवार सबैले भुइँकटर लगाएका छन् । दुई याममा उत्पादन हुने भुइँकटहर यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । पाकेपछि सिधैँ बजारमा नगदमा बिक्री हुने हुँदा यसको खेतीमा यहाँका स्थानीयको आकर्षण बढेको छ । गत वर्षमात्र यहाँका किसानले करिब रु ५० लाख बराबरको भुइँकटहर बिक्री गरेको तुलबहादुरले बताए ।

    देवचुली नगरपालिकाअन्तर्गत पर्ने बन्दीपुर गाउँमा राम्रो भुइँकटर उत्पादन हुने भएकाले यस गाउँलाई भुइँकटहरको पकेट क्षेत्र निर्माण गर्ने गरी चालु आर्थिक वर्षमा कार्यक्रम तय गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताए ।

    बन्दीपुरको भुइँकटहर बजारीकरणका लागि पालिकाले सहयोग गर्दै आएको र अन्य सङ्घसंस्थासँग मिलेर किसानलाई भुइँकटहरखेतीतर्फ आकर्षित गर्नेगरी काम गरिने उनले जानकारी दिए ।भुइँकटरकै माध्यमबाट बन्दीपुरका स्थानीयको आर्थिक विकास गर्न सकिने भएकाले यसलाई लक्षित गरी काम गरिने नगरप्रमुख न्यौपानेले बताए ।


    प्रकाशित : बुधबार, श्रावण ३० २०८११०:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार