भोजपुर । भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा जुटेका छन् । मनग्य आम्दानी हुने भएपछि किसान औषधिजन्य बहुउपयोगी जडीबुटी लोठसल्लाको खेतीमा जुटेका हुन् । जिल्लाको लेकाली भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ ।
यहाँको आमचोक गाउँपालिका- २ मा सात कृषक मिलेर व्यावसायिकरुपमा लोठसल्लाको खेती थालेका हुन् ।
बसाइसराइका कारण बाँझिदै गएको जमिनको सदुपयोग गर्ने लक्ष्यले करिव तीन सय रोपनी जमिनमा लोठसल्लाको व्यावसायिक खेती विस्तार गरेको कृषक सन्तोष चौलागाँइले बताए ।
हालसम्म १८ हजार विरुवा रोप्ने काम सम्पन्न भएको उनले जानकारी दिए । भावी दिनमा यसलाई थप विस्तार गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।
“सात जना कृषक मिलेर व्यावसायिकरुपमा तीन सय रोपनी जमिनमा लोठसल्ला खेती गरिरहेका छौँ ”उनले भने, “हालसम्म १८ हजार विरुवा विस्तार गरिसकेका छौँ । सुरुमा आफ्नै लगानीमा थालेको काममा राज्यको तर्फबाट पनि केहि सहयोग पाउँदा खुसी लागेको छ ।”
किसानलाई जडीबुटी पकेट क्षेत्र निर्धारण गरेर आवश्यक सहयोग गर्दै आएको डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताP ।
भोजपुरमा लोठसल्ला, सतुवा, चिराईतोलगायत जडीबुटीको राम्रो सम्भावना रहेकोले यसको विस्तारमा जोड दिएको उनको भनाइ छ ।
“भोजपुरमा जडीबुटीको निकै राम्रो सम्भावाना छ” उनले भने,“यहाँको सम्भावनाको पहिचान गरेर लोठसल्ला, सतुवा, चिराईतोको व्यावसायिक खेतीमा प्रोत्साहन गर्दै आएका छौँ ।”
आमचोक क्षेत्रमा किसानहरुले उहाहरणीयरुपमा लोठसल्लाको खेती गरिरहेको कार्यालयको भनाइ छ ।
किसानले स्वतस्फूर्त थालेको काममा केहि प्रोत्साहन गर्ने लक्ष्यले गत आर्थिक वर्षमा विरुवा खरिदको लागि रु चार लाख पाँच हजार सहयोग गरेको वन कार्यालयका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए । यहाँका किसानले थालेको लोठसल्ला खेती नमूनायोग्य रहेको उनको भनाइ छ ।
विशेष गरेर जिल्लामा भूगोल अनुसारको जडीबुटी खेतीमा जोड दिइएको कार्यालयको भनाइ छ ।
जैविक विविधतासँगै क्यान्सरजस्तो घातक रोगको औषधिको कच्चा पदार्थका रूपमा यसको पात तथा डाँठको प्रयोग हुने विज्ञहरुको भनाइ छ । यसको पातलाई चियाको रुपमासमेत प्रयोग गर्न सकिने वन कार्यालयको जनाएको छ ।
लोठसल्ला खेतीको लागि भोजपुरको आमचोक गाउँपालिका, टेम्केमैयुङ १ तिम्मा, वडा नं ५ खावा, वडा नं ९ लेखर्क तथा जिल्लाको माथिल्लो क्षेत्रमा बढी सम्भावना रहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खुद्रुस मियाले बताए ।
लोठसल्ला खेतीको लागि समुन्द्री सतहबाट दुई हजारदेखि तीन हजार पाँच सय मिटरसम्मको उचाइ उपयुक्त हुने उनको भनाइ छ ।
लोठसल्ला बहुउपयोगी औषधिजन्य गुण भएको वनस्पति रहेकोले यसको खेती विस्तारमा जोड दिन आवश्यक रहेको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले बताए ।
किसानले जिल्लामा लोठसल्ला खेतीको लागि गरिरहेको काम नमूनायोग्य रहेको उनको भनाइ छ । यस्ता खालका कार्यक्रमले बाँझो तथा खाली जमिनको सदुपयोगसँगै किसानलाई आयआर्जनमा जोड्न टेवा पुग्ने प्रमुख थुलुङले बताए ।
“मैले पनि आमचोकमा भईरहेको लोठसल्ला खेतीको स्थलगत अनुगमन गरे” प्रमुख थुलुङले भने, “किसानहरुले खेती विस्तारको लागि गरिरहेको काम उदाहरणीय छ । यसले बाँझो जमिनको सदुपयोगसँगै उनीहरुलाई आयआर्जनमा जोड्न टेवा पुग्ने देखिन्छ ।”

