जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले नयाँ वर्ष २०२२ तथा राष्ट्रिय पोशाक दिवस जनवरी १ को अवसर पारेर आयोजना गर्न थालिएको “टोकियो कविता कन्सर्ट २०२२” तथा ६१ औँ नियमित साहित्य शृङ्खलाको सम्पूर्ण तयारी सकिएको जानाएको छ ।
जनवरी १ तारिख बिहान ११ बजेदेखि टोकियो सिनओकुबोस्थित सोलमारी मुरा हलमा सम्पन्न हुने उक्त कार्यक्रममा संस्थाले विभिन्न समिति तथा उपसमिति निर्माण गरी तयारीलाई अन्तिम चरणमा पुगेकाे छ ।
कार्यक्रमलाई जापानमा व्यवसाय गरिरहेका व्यावसायिक तथा केही सामाजिक संस्थाहरूले समेत सहयोग गर्ने भएका छन् । जापान तथा अन्य विभिन्न ठाउँमा क्रियाशील सञ्चार माध्यमहरूले पनि मिडिया पार्टनरको भूमिका निभाइरहेको संस्थाका अध्यक्ष रविन शर्माले जानकारी दिए ।
उनले यसपालि हामीले जापानमै पहिलो पटक फरक अनुभूति गराउने गरी तयारी गरेको बताउँदै पाँचवटा विशिष्ट कविका साथमा पृष्ठभूमिमा सारङ्गी र बाँसुरीको धुनको पनि मज्जा लिने सकिने बताए ।
कविता कन्सर्टमा संभव भएसम्म हाम्रा पहिचान झल्किने पोशाक सहित उपस्थित अनुरोध गरिएको छ । कार्यक्रममा सहभागिता जनाउन कुनै शुल्क नलाग्ने र नेपाली साहित्यमा रुचि राख्ने जो कोहीले पनि सहजै प्रवेश पाउने जानकारी महासचिव शरद पोख्रेलले दिए ।

