चितवन । सङ्खुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त छन् ।
आफ्नै उद्योगमा अल्लोको धागोबाट आफैँले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरू सङ्खुवासभाबाट चितवन आएको हो । चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्चको निमन्त्रणा पाएपछि आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुका साथै चितवन पनि घुम्न पाइन्छ भनेर मनकला कुलुङ र उनका श्रीमान् देवेन्द्र कुलुङले यहाँ आउने निधो गरेको हो ।
मनकलाले भने, “हाम्रो खाँदबारीमा अल्लो व्यवसायी सङ्घ छ । यहाँबाट निमन्त्रण गएको रहेछ । यसपालि हामी आउने निर्णय भयो, त्यहीअनुरुप आएका हौँ । पहिलोपटक चितवन आएर आफ्नो उत्पादन प्रदर्शन गरी बेच्न पाउँदा निकै खुसी लागेको छ ।”
सिलिचोङ गाउँपालिका पाङसिम्मा स्थायी घर भएका कुलुङ परिवारको अहिले सङ्खुवासभास्थित खाँदबारी नगरपालिका–७ नयाँबजारमा अल्लोको कपडा बनाउने उद्योग छ । मनकलाले सानै उमेरदेखि अल्लोको कपडा बुन्ने काम गर्थ्यो । त्यसैको जगमा उनी व्यवसायी बन्न सफल भएको हो ।
उनले सुनाए, “म सानो छँदा मेरो दिदीले गाउँमै अल्लोको कपडा बनाउने गर्थ्यो, त्यहीँ बेला दिदीसँग मैले पनि यो बुन्न सिकेकी थिएँ । पछि विवाह भयो । अनि यसैमा काम गर्न थाले ।” पहिले मनकलाले गाउँमै रहेका साना उद्योगमा काम गर्दै आए । श्रीमान् देवेन्द्र पनि गाउँमै जडीबुटीलगायत काम गर्थ्यो ।
जब उनीहरूको सन्तानको जन्म भयो तब गाउँको कमाइले घर चल्न र बच्चा पढाउन पुग्लाजस्तो लागेन । गाउँमा बच्चा पढाउने विद्यालयको असुविधाका कारण उनीहरु सदरमुकाम खाँदबारीतर्फ लागे ।
सदरमुकाम आएर जेनतेन यही काम अरूको उद्योगमा गर्दै आएकी मनकलालाई आफैँ व्यवसायी बनेर उद्योग खोल्ने मन भयो । त्यसो त उक्त निर्णयमा उनका श्रीमानको साथ र आफन्तको सहयोग पनि रह्यो । अनि सुरु भयो, ‘हिमाली अल्लो तथा सुती कपडा उद्योग’ ।
कुलुङ दम्पतीसँग उद्योगमा सुरुमा धेरै लगानी गर्ने पैसा थिएन । सरसापट र आफूहरूसँग भएको अलिअलि गरी रु एक लाखजति लगानी गरेर सानो उद्योग दर्ता गरेर काम सुरु गरेको मनकला बताउँछिन ।
उनी भन्छिन, “कच्चा पदार्थ गाउँमै पाइन्छ । नपुग भएमा छिमेकी जिल्ला सोलुखुम्बुबाट पनि ल्याउँछौँ, अहिले व्यापार राम्रै चलेको छ ।” अल्लो एक प्रकारको सिस्नोको प्रजाति हो ।
यो विशेष गरेर मङ्सिर र पुसमा टिप्ने गरिन्छ । सुरुमा जङ्गलमा गएर अल्लो काटिन्छ । त्यसपछि बोक्रा निकालेर सुकाउने काम हुन्छ । सुकेका बोक्रा फेरि पानीमा भिजाएर खरानीसँग पकाउने काम हुन्छ । खरानीमा पकाएको अल्लोलाई बोक्राको कालो जानेगरी धोएर कमेरो माटोमा घोलेर सुकाउने गरिन्छ । कमेरो पखालेपछि अल्लोको धागो तयार हुन्छ । धागोबाट उद्योगमा विभिन्न प्रकारका चाहेअनुसारका कपडा तयार गरिन्छ । कुलुङ दम्पतीलाई उत्पादन गरेका कपडाको बजार खोज्दै हिँड्न पर्दैन ।
उद्योगबाट महिनाको दुई सय मिटर कपडा तयार गर्ने गरेको उनीहरुको भनाइ छ । उत्पादीत अल्लोको कपडाको बजार इलाम, ताप्लेजुङ, बिराटनगर, धरान र काठमाडौँ हो । मनकलाले भनिन, “फोन गरेर अर्डर गर्छ त्यही अनुसार हामीले कपडा पठाउँछौं बिक्री गर्नका लागि कुनै समस्या छैन ।
”कुनैबेला आफैँ कामदार रहेकी मनकलाको उद्योगमा अहिले चार कर्मचारी छन् । सिजनको बेलामा अन्य कामदार थप्ने गरेको उनी बताउछिन ।
अल्लोको कपडाको खास सिजन असोजदेखि वैशाखसम्म हो । आफू कामदार हुँदा र व्यवसायी हुँदा आकाश–जमिन फरक पाएको मनकलाले सुनाइन, “आफ्नो काम गरेको हिसाब हुँदैन जतिबेरसम्म गरे पनि आफ्नै हो, फाइदा आफैँलाई हो”, उनी भन्छिन । श्रीमानको निरन्तर साथ र सहयोग तथा आफ्नो खटाइले आज यो स्थानसम्म आइपुगेको मनकलाले बताइन ।
देवेन्द्रले मनकलाको सीप र जाँगरलाई आफूले हौसला थप्ने काम मात्र गरेको भन्दै सुनाए, “सबै योजना उनकै (मनकला) हो ।” उद्योगबाट ठूलो सपना नबोकेका कुलुङ दम्पतीलाई यतिबेला छोराछोरीको भविष्य राम्रो बनाउने ध्याउन्न छ ।
उनीहरूका एक छोरी खाँदबारीमै प्राविधिक विषयमा अध्ययनरत छिन भने छोरा विद्यालयस्तरमा अध्ययनरत छन । चितवनमा लागेको मेलाको कक्षमा बस्दै गर्दा धेरै अनुभव प्राप्त गरेको कुलुङ दम्पतीले सुनाए ।
देवेन्द्रले भने, “धेरैलाई अल्लोको कपडा भनेको थाहा रहेनछ । आउछ हेर्छ अनि जान्छ ।” ग्राहक आएर किने पनि नकिने पनि अल्लोको कपडाका बारेमा बुझाउन पाउँदा उनलाई खुसी लागेको उनले बताए । स्वास्थ्यका लागि लाभदायी हुने अल्लोको कपडा उद्योगलाई आगामी दिनमा थप व्यवस्थित बनाएर लैजाने कुलुङ दम्पतीको योजना छ ।

