२०८३, कार्तिक ११ गते बुधबार

शुभकामना - नेकपा (माओवादी केन्द्र)

शुभकामना - नेकपा (माओवादी केन्द्र)


  • मेरोभ्यूज
  • आश्विन २६, २०८१ शनिबार

  • शुभकामना - नेकपा (माओवादी केन्द्र)

    काठमाडौँ । हिन्दुहरूको महान् पर्व विजयादशमीको सुखद् उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    असत्यमाथि सत्यको विजय भएको ऐतिहासिक मान्यता एवं विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, मेलमिलाप एवं सहकार्यका निम्ति महत्वपूर्ण योगदान गर्दै आएको छ ।

    घटस्थापनादेखि प्रारम्भ भई कोजाग्रत पूर्णिमासम्म विविध साँस्कृतिक क्रियाकलाप एवं उत्सवका साथ मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशिर्वाद ग्रहण गर्दै पारिवारिक जमघट एवं पुनर्मिलन साथै खुसियाली र हार्दिकता साटासाट गरी मनाइने दशैं पर्व बसाइको विविधतापूर्ण विश्व परिवेशमा सामाजिक पुनर्मिलनको सबैभन्दा ठूलो उत्सव एवं अवसरका रूपमा समेत स्थापित हुँदै आएको छ ।

    देशमा विद्यमान परिवर्तित राजनीतिक परिस्थिति एवं विज्ञान–प्रविधिको गुणात्मक विकाससँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई पनि थप समृद्ध र विकसित तुल्याउन जरूरी छ ।

    हाम्रा मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक हुन्छ । यसले हाम्रा मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई थप बलियो र जीवनमुखी बनाउन मद्दत गर्दछ ।

    तसर्थ, दशैं पर्वलाई वर्षभरिको सबैभन्दा ठूलो उत्सव एवं पारिवारिक र सामाजिक पुनर्मिलनको महत्वपूर्ण अवसरका रूपमा खुसियालीपूर्वक मनाउन म सबैमा अपील गर्दछु ।

    दशैंको पूर्वसन्ध्यामा आएको बाढीपहिरो र त्यसले निम्त्याएको भयानक विपत्तिबाट सिङ्गो देश आक्रान्त छ । असोजको दोस्रो साता आएको अविरल वर्षापछिको बाढीपहिरोबाट सयौँ नेपालीको ज्यान गएको छ, कैयौँ मानिसहरू अहिले पनि बेपत्ता नै छन् । प्रकोपबाट अरबौंको भौतिक क्षति र जनसमुदायको जीवनमा अकल्पनीय पीडा थपिएको छ। तर, जतिसुकै पीडा र चुनौतीको बीचमा पनि धैर्यतापूर्वक विपत्तिको सामना गर्नुबाहेक अर्को बिकल्प छैन ।

    यस सन्दर्भमा सङ्कटको यस घडीमा प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनमा राहतको व्यवस्था, घरबारबिहीन नागरिकहरूका निम्ति पुन:स्थापना एवं पुनर्वास, क्षति भएको सम्पत्तिको उचित क्षतिपूर्ति, जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण, भत्किएका सडक, पुललगायतका संरचनाहरूको पुन:निर्माणमा तीव्रता दिएर आम जनतालाई देशमा सरकार भएको अनुभूति गराउनसमेत म नेपाल सरकारलाई पुनःस्मरण गराउन चाहन्छु ।

    अन्त्यमा, विजयदशमी २०८१ ले हामी सबै नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन एवं सङ्कटपूर्ण परिस्थितिको सामनासहित शोकलाई शक्तिमा बदल्न थप प्रेरणा र उर्जा प्रदान गर्ने विश्वासका साथ समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद, पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष, नेकपा (माओवादी केन्द्र)


    प्रकाशित : शनिबार, आश्विन २६ २०८११०:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार