२०८३, कार्तिक १२ गते बिहीबार

हेवाको पुल बगेपछि ताप्लेजुङमा सामान ढुवानीमा कठिनाइ

हेवाको पुल बगेपछि ताप्लेजुङमा सामान ढुवानीमा कठिनाइ


  • मेरोभ्यूज
  • कार्तिक ३, २०८१ शनिबार

  • हेवाको पुल बगेपछि ताप्लेजुङमा सामान ढुवानीमा कठिनाइ

    ताप्लेजुङ । वर्षासँगैको आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको झण्डै ४५ मिटर लामो बेलिब्रिज बगाएपछि यातायातमा कठिनाइ भएको छ ।

    ताप्लेजुङ जिल्लाका लागि “लाइफलाइन” का रुपमा रहेको उक्त पुल नहुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङबाट इलाम, झापालगायतका ठाउँमा जाने र ताप्लेजुङतर्फ आउने यात्रु मारमा परेका छन् । ढुवानीका सवारीसाधनहरु ठप्प छन् । फिदिम–ताप्लेजुङ चल्ने छोटो दूरीका यात्रु बोक्ने सवारीसाधन फाट्टफुट्ट चलेका छन् । तर दुवैतर्फका गाडी हेवा खोलासम्म मात्र पुग्छन् ।

    हेवा खोलामा पुगेका यात्रुले केहिबेर हिँडेर त्यहाँ रहेको झोलुङ्गे पुल हुँदै वारपार गर्नुपर्छ र अर्को गाडी चढ्नुपर्छ । अर्कातर्फ राजमार्गका विभिन्न ठाउँमा पहिरो गएका कारण बाटो अवरुद्ध हुँदा इलाम, झापा जाने यात्रु थप मारमा परेका छन् ।

    मेची राजमार्गअन्तर्गत फिदिम–राँके सडकखण्डका विभिन्न ठाउँमा गएको पहिरो पन्छाएर यातायात सहज तुल्याउन प्रयास गरिरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।

    यता फिदिम नगरपालिका र पाँचथरका सुरक्षा निकायले हेवा खोलामा यात्रुको सहजताका लागि मोटरसाइकलसम्म वारपार गराउन मिल्ने गरी बाँसको फड्के बनाउन थालेका छन् ।

    धरानबाट ताप्लेजुङ र पाँचथर पुग्ने छोटो दूरीको निर्माणाधीन तमोर करिडोरको सडकसमेत अवरुद्ध छ । ठाउँ-ठाउँमा पहिरोले सडकमा क्षति पुगेको छ भने मोटरेबल पुल नभएका खोलाहरुमा सवारीसाधन ओहोरदोहोर गर्ने अवस्था छैन ।

    निर्माणकै क्रममा रहेको करिडोर सञ्चालनमा आएपनि यस अन्तर्गतका धेरैवटा खोलामा पुल बनिसकेका छैनन् ।

    यात्रु बाहक र सामान बोकेका साना सवारीसाधन दोभान, हाम्पाङ, तेह्रथुमको सक्रान्ती, म्याङ्लुङ हुँदै धरान गएका छन् भने धरानबाट उक्त ठाउँहरू हुँदै सवारीसाधनहरु ताप्लेजुङ पनि आएका छन् ।

    आठराई त्रिवेणी गाउँपालिका हुँदै तेह्रथुम जोड्ने उक्त सडकलाई तत्कालका लागि वैकल्पिक रूपमा प्रयोग गर्न सकिने भन्दै आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन पोमूसहितको टोलीले सडकको अनुगमन गरेको छ ।

    “वैकल्पिक रूपमा यस क्षेत्रका तीन वटा सडकलाई प्रयोग गर्न सकिन्छ । यीमध्ये कुन सहज हुन्छ भन्ने एकिन गर्न र मर्मत गर्नुपर्ने ठाउँको पहिचान गर्न अनुगमन गरिरहेका छौँ तेह्रथुमतर्फ पनि समन्वय गर्दैछौँ,” अध्यक्ष पोमूले जानकारी दिए ।

    हेवा खोलाको पुल गत वर्षको असारमा समेत बाढीले बगाउँदा महिनौं सास्ती भएको थियो । सडक विभागले उक्त समयमा बेलिब्रिज निर्माण गरेर यातायात सञ्चालनमा ल्याएको थियो । बाढीले त्यही बेलिब्रिज बगाएको हो ।

    साधारणतया यात्रुले असहज रूपमा विभिन्न विकल्प अपनाएर यात्रा गरे पनि ताप्लेजुङबाट तराईतर्फ उपचारका लागि जानुपर्ने बिरामी, वृद्धवृद्धा, अशक्तलाई समस्या हुने देखिएको ताप्लेजुङ निवासी हरिकुमार लिम्बूले बताए ।

    पुल बगेसँगै ढुवानीका साधन केही बीचैमा अलपत्र परेका छन् भने ताप्लेजुङ हिँड्न लोड भएका केही साधन झापामै रोकिएको ताप्लेजुङ ढुवानी सेवाका कुमार तामाङले बताए ।

    ढुवानी सेवा मार्फत झापादेखि खाद्यान्नलगायतका दैनिक उपभोग्य सामान ताप्लेजुङ आउने गरेको छ भने यहाँबाट अलैँचीलगायतका सामान लैजाने गरिएको छ ।

    ढुवानी सेवा ठप्प हुँदा सामान्यतया समस्या भएपनि तत्काल ताप्लेजुङमा दैनिक उपभोग्य सामानको भने अभाव नरहेको उद्योग वाण्ज्यि सङ्घ ताप्लेजुङले जनाएको छ ।

    सङ्घले तत्काल उपभोग्य सामग्रीको मौज्दात पर्याप्त रहेको निष्कर्षसहित कृत्रिम अभाव सिर्जना र मूल्यवृद्धि नगर्न व्यवसायीलाई आग्रह गरेको छ भने उपभोक्तालाई समेत आत्तिएर सामान खरिद नगर्न भनेको छ ।

    “बजारमा करिब दुई हप्तालाई पुग्ने गरि दैनिक उपभोग्य सामानको मौज्दात देखिएको छ, कृत्रिम अभाव सिर्जना नगर्न, मूल्यवृद्धि नगर्न सबै व्यवसायीलाई सूचना गरेका छौँ । दुई हप्ताभन्दा लामो समयसम्म सडक अवरुद्ध भए त्यसपछि समस्या होला,” सङ्घका सचिव खेम केसीले जानकारी दिए ।

    पुल नहुँदा यातायातमा कठिनाइ हुने र लामो समय ढुवानीका साधन चल्न नसक्ने अवस्था आए समस्या हुन सक्ने भन्दै सर्वसाधारणले भने चिन्ता व्यक्त गरेका छन् ।

    चाडबाड सुरु भएको साथै पाथीभरा मन्दिरको दर्शनका लागि आउने भक्तजनका लागि ठूलै समस्या हुने भएकाले तत्काल समस्या समाधानमा ध्यान दिन आवश्यक भएकामा स्थानीयको जोड छ ।

    यता पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भई विद्युत् अवरुद्ध हुँदा ताप्लेजुङसमेत अन्धकारमा छ । पहिराले काबेली करिडोर एकसय ३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टावर ढलेकाले विद्युत् अवरुद्ध भएको हो । उक्त टावर ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङ अन्धकारमा परेका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारणसहित व्यवसायीहरू पनि मारमा छन् ।

    यही समयमा ताप्लेजुङका निजी विद्यालयहरूमा परीक्षा सञ्चालन भइरहेकाले बालबालिकालाई समस्या भएको अभिभावकले बताएका छन् । यस्तै स्थानीय सञ्चारमाध्यम रेडियोहरूले समेत आफ्नो प्रसारणको समय कटौती गरेका छन् ।


    प्रकाशित : शनिबार, कार्तिक ३ २०८११०:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार