२०८३, कार्तिक १२ गते बिहीबार

सात करोडका पर्यटकीय पूर्वाधार निर्माण

सात करोडका पर्यटकीय पूर्वाधार निर्माण


  • मेरोभ्यूज
  • कार्तिक ८, २०८१ बिहीबार

  • सात करोडका पर्यटकीय पूर्वाधार निर्माण

    पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा अवस्थित एसियाकै ठूलो महाशिला (ढु्ङ्गा)मा रु सात करोडको लगानीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण बढ्न थालेको छ । सडकमार्गको पहुँचसँगै महाशिला वरिपरि आकर्षक संरचना निर्माण गरिएका छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय, गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटनमन्त्रालय र स्थानीय गाउँपालिकाको लगानीमा विभिन्न संरचना निर्माण गरिएका हुन् ।

    सदरमुकाम कुश्माबजारबाट करिब ४० किलोमिटरको दूरीमा पर्ने महाशिलामा रहेको यो ठूलो ढुङ्गा स्थानीयस्तरमा मेहलढुङ्गाको नामले परिचित छ । यसको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताए ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयमार्फत रु चार करोड १२ लाखको लागतमा पर्यटकका लागि सुविधासम्पन्न आश्रम भवन, स्वामिनारायण गुफा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ ।

    गण्डकी प्रदेश सरकारको सहयोगमा महाशिला परिसरमा रु एक करोडको लागतमा एक सय आठ गौमुखी धारा, महाशिला परिक्रमा गर्ने पदमार्ग, मुख्य गुफा तथा पुरानो संरचना संरक्षणलगायत पूर्वाधार तयार गरिएको छ ।

    नेपाल पर्यटन बोर्डमार्फत रु एघार लाखको लागतमा ट्रष्ट भवन बनाइएको छ भने गाउँपालिकाले पनि विभिन्न संरचना तथा सडक पूर्वाधारमा लगानी गरेको छ ।

    चालु आर्थिक वर्षमा समेत सङ्घीय मन्त्रालयमार्फत रु एक करोड ५० लाख विनियोजन भएको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार उक्त बजेट महाशिला परिसरमा पर्खाल निर्माण तथा आश्रम भवनमा आवश्यक सामग्री खरिदलगायतमा खर्चिने भएको छ ।

    केही वषअघिसम्म आवश्यक प्रचार-प्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको महाशिलामा अहिले धार्मिक, आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउन थालेको अध्यक्ष पौडेलको भनाइ छ ।

    लुङ्खुदेउरालीमा पक्की मोटरबाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङजा, गुल्मी, बुटवल, पाल्पालगायत जिल्लाबाट सिधैँ पर्यटक आउने गरेको स्थानीय सरस्वती अधिकारीले बताइन ।

    महाशिला एक पटक हिँडेर परिक्रमा गर्दा एक माना चामलको भात पाक्ने किंवदन्ती छ । एकपटक घुम्दा दस मिनेटभन्दा बढी समय लाग्छ । यहाँ हरेक एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीयालगायत चाडपर्वमा मेला लाग्छ । महाशिला गाउँपालिकाको नामकरण यही शिलाको नामबाट गरिएको हो । एक सय ३० मिटर अग्लो शिला झण्डै दस रोपनी क्षेत्रफलमा फैलिएको छ ।

    शिला परिसरमा विभिन्न संरचना निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गासमेत दान गरेका छन् । अहिले शिलाको स्वामित्वमा झण्डै वीस रोपनी क्षेत्रफल रहेको अध्यक्ष पुष्पराज पौडेलले बताए । महाशिला गाउँपालिकाले यसको विकासका लागि रु ७० करोडको गुरुयोजनासमेत बनाएको छ ।

    गुरुयोजनाअनुसार काम अघि बढाउँदै लगिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । सङ्घीय र प्रदेश सरकारसँगको पहलमा गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना छ ।


    प्रकाशित : बिहीबार , कार्तिक ८ २०८११०:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार