२०८३, कार्तिक १२ गते बिहीबार

चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक

चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक


  • मेरोभ्यूज
  • कार्तिक ८, २०८१ बिहीबार

  • चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक

    ढोरपाटन,बागलुङ । बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहल-पहल बढ्न थालेको छ ।

    गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो । विसं १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्वार गरेपछि चिटिक्क परेको छ ।

    टेउवाको मूर्तिकला र गाईघाट झरनाबीचमा रहेको दरबार पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । दरबार परिसरमा तस्बीर खिच्ने, टिकटक बनाउने र मनोरञ्जन लिनेको भीड देखिन्छ ।

    एक सय दुई वर्ष पहिले निर्माण भएको दरबारलाई करिब रु ५० लाख खर्च गरेर जीर्णोद्वार गरिएको गलकोट नगरपालिका–५ का अध्यक्ष पवन हमालले बताए ।

    दरबारको बारदली, झ्याल, ढोका, चौकोस, छानोलगायत भाग जीर्ण बनेपछि अघिल्लो वर्ष भदौदेखि जीर्णोद्वार सुरु गरेको उनले बताए । दरबार वरपर बगैँचा, पिङलगायत मनोरञ्जन गर्ने पार्क निर्माण गरिरहेको उनले बताए ।

    नगरपालिका–५ का अध्यक्ष हमालका अनुसार दैनिक एक सय ५० बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । बिदाको दिन झण्डै पाँच सयको हाराहारीमा पर्यटक आउने गरेको बताए ।

    पहिलेदेखि नै आन्तरिक पर्यटक आउने गरे पनि अहिले ढोरपाटन, मुक्तिनाथ, रुकुमलगायत स्थानमा जाने बाह्य पर्यटकसमेत आउने गरेको अध्यक्ष हमालले जानकारी दिए । दरबारलाई सङ्ग्रहालयका रुपमा विकास गर्न थालिएको हमालले बताए ।

    दरबारभित्र राजाहरुले प्रयोग गरेका हतियार, पोसाक, टेलिभिजन, सोफालगायतका सामग्री सङ्ग्रहित गर्न थालिएको छ । उनले भने, “दरबार जीर्ण बनेको थियो, यो दरबारसँग इतिहास जोडिएको हुँदा यसलाई संरक्षण गर्नुपर्छ भन्ने हिसाबले अहिले जीर्णोद्वार गरेका छौँ, इतिहाससँगै दरबार पर्यटकका लागि आकर्षक गन्तव्य पनि बनेको छ, यहाँ बाह्रै महिना पर्यटक आउने गर्छन्, जीर्णोद्वार गर्दा पुरानो शैली र कलालाई बिगारेका छैनौँ, अहिले निकै सुन्दर बनेको छ, दिनदिनै दरबारमा आएर रमाउने, घुम्ने पर्यटक बढेका छन्, अहिले विदेशीको पनि चहल-पहल हुन थालेको छ ।”

    सामाजिक सञ्जालमार्फत दरबारको प्रचार-प्रसार भएपछि देशका विभिन्न जिल्लाबाट पर्यटक घुम्न आउने गरेका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने हटिया बजारदेखि दस गाडीमा दस मिनेटमा दरबार पुग्न सकिने हुँदा रोल्पा, रुकुम र ढोरपाटन जाने पर्यटक यहाँ आउने गरेका छन् ।

    रुपन्देहीको देवदहबाट घुम्न आएका प्रेरणा शर्माले एक सय वर्ष पुरानो दरबार निकै आकर्षक रहेको बताइन । सामाजिक सञ्जालमा दरबारको तस्बिर तथा भिडियो देखेको हुँदा बागलुङ कालिका दर्शन गर्न आएका बेला दरबारमा आएको शर्माले बताइन ।

    “दरबार पुरानो होला, भत्किएको होला भन्ने लागेको थियो”, तर यहाँ आउँदा चिटिक्क परेको देखेँ, स्थानीयले संरक्षण गरेर राखेको रहेछ”, शर्माले भनिन, “यहाँको हावापानी पनि राम्रो, ठाउँ पनि सुन्दर लाग्यो, हामीहरु पारिवारिक घुमघाममा आएका थियौँ, दरबारमा आएपछि हजुरबुबा, हजुरआमा, बाबा, ममी सबै खुसी भए ।”

    पर्यटकका लागि दरबारमै रेस्टुरेन्ट दरबारमा आउने पर्यटकको सहजताका लागि गलकोट दरबार प्रालिले तीन महिनादेखि रेस्टुरेन्ट सञ्चालन गरेको छ । टाढा–टाढाबाट घुम्न आउने र दरबारमा बस्न चाहने पर्यटकका खाना र बस्नको सुविधा रहेको गलकोट दरबार प्रालिका सदस्य विजय मल्लले बताए ।

    दरबार प्रालिले दरबारसँग जोडिएको घरमा करिब ५० लाख लगानीमा रेस्टुरेन्ट सञ्चालन गरेको हो । रेस्टुरेन्टमा एकैसाथ वीस जना पाहुना राख्न सकिने उनले बताए ।

    घुम्न आउने धेरै पर्यटकले दरबारमा बास बस्ने चाहना देखाएपछि आफूहरुले रेस्टुरेन्ट सञ्चालन गरेको उनले बताए । दरबार करिब पाँच रोपनी जग्गामा फैलिएको छ । विसं २०१७ सम्म दरबार अस्तित्वमा थियो । भरत बम मल्ल तत्कालीन राजा थिए । यहीँबाट गलकोटको राजकाज चल्थ्यो । त्यस बेलासम्म गलकोट राज्यको प्रशासनिक, न्यायिक र आर्थिक अधिकार दरबारमा केन्द्रित थियो । पहिलो जननिर्वाचित सरकारले राजा, रजौटा उन्मूलन गर्ने निर्णय गरेको थियो । त्यसका लागि मन्त्रिपरिषद् प्रस्ताव लाने गलकोटे राजा भरत बम मल्ल थिए । उनी २०१५ को निर्वाचनमा भाग लिएर निर्वाचितसमेत भएको थियो ।

    दरबार मल्लकी नातिनी बुहारी सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरत बमको निधनपछि दरबार संरक्षणको जिम्मा नाति माधव बममा आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्लको द्वन्द्वका समयमा मृत्यु भएको थियो । विसं २०५९ वैशाखमा भएको उक्त घटनासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ सरेको थिए ।


    प्रकाशित : बिहीबार , कार्तिक ८ २०८११०:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार