चौतारा,सिन्धुपाल्चोक । जिल्ला सदरमुकाम चौतारामा विसं २०७६ मा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ । निर्माण कम्पनीको ढिलासुस्तीले रु ४१ करोड ६२ लाखको परियोजना अलपत्र परेको हो ।
तीन वर्षमा काम सम्पन्न गर्नेगरी गिरी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो । विभिन्न बहानामा रङ्गशालाको काम रोकिएको छ । यसैबीच, उक्त कम्पनीले अर्को निर्माण कम्पनीसँगको साझेदारीमा रङ्गशालाको ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरेको छ । जिल्ला खेलकूद विकास समितिका अध्यक्ष रामकृष्ण दङ्गालले पनि कछुवा गतिमा काम भइरहेको बताए ।
जिल्ला फुटबल सङ्घका अध्यक्ष अमृतमान श्रेष्ठले रङ्गशाला नहुँदा छ वर्षसम्म जिल्लामा खेलकूदका गतिविधि ठप्प भएका तथा मैदानमा निर्माण सामग्री थुपारिएको कारण त्यो उपयोगविहीन भएको दुखेसो गरे ।

