२०८३, कार्तिक १३ गते शुक्रबार

तामाङ एकीकृत बस्ती बजेट अभावले अलपत्र

तामाङ एकीकृत बस्ती बजेट अभावले अलपत्र


  • मेरोभ्यूज
  • मंसिर २, २०८१ आइतबार

  • तामाङ एकीकृत बस्ती बजेट अभावले अलपत्र

    काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ ।

    बस्ती निर्माणको काम २०७४ सालमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी काम थालिएको थियो । ‘कोरोना–प्रभाव’लगायत कारण ढिलासुस्ती हुँदै आएको उक्त बस्ती निर्माण बजेट अभावले दुई वर्षदेखि रोकिएको हो ।

    योजनाअन्तर्गत छ वटा घर बन्न बाँकी छन्भने बनेका घरहरुको ‘फिनिसिङ’ गर्न बाँकी छ । नमूना बस्ती निर्माण योजनाअन्तर्गत तीस घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो । बजेट अभावमा दुई वर्षदेखि निर्माण रोकिएको निर्माण समितिले जनाएको छ ।

    उक्त बस्ती निर्माण सम्पन्न हुनुअघिनै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको कामसमेत अलपत्र भएको हो । बाँकी काम पूरा गर्न नगर कार्यालयले रु ४० लाख सहयोग दिने जनाए पनि अघिल्लो आर्थिक वर्षदेखिनै रकम निकासा नहुँदा बस्ती निर्माणको रोकिएको हो ।

    बस्तीका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइए पनि रकम निकासा नहुँदा अलपत्र भएको हो ।

    सरकारको योजनाअनुसारनै तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होम-स्टे’सहितको नमूना तामाङ बस्तीको निर्माण थालिएको थियो ।

    नगरप्रमुख टोकबहादुर वाइबाले अघिल्लो चरणमा लगेको पेश्की फर्छ्यौट भएपछि मात्रै बस्तीको लागि निर्णय गरिएको रकम निकासा गर्न सकिने बताउँदै आएका छन् ।

    यसअघि नगरले रु दस लाख सहयोग गरेको थियो । उक्त सहयोगबाट जस्तापातालगायत निर्माण सामग्री खरीदका कागजपत्र नगरमा पेस गरिएको समितिले जनाएको छ ।

    प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको निर्माण समितिका अध्यक्ष आइतमान तामाङले बताए ।

    केही वर्षअघिसम्म स्थानीयस्तरमै पटक-पटक रु ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको उनले बताए ।

    प्राधिकरणबाट रु दुई करोड ८० लाख रकम निकासा भएको उनले जानकारी दिए । उनका अनुसार उक्त रकमबाट एकीकृत बस्तीमा पहूँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउन खर्च भएको छ ।

    काभ्रेपलाञ्चोकको मण्डनदेउपुरस्थित तीनधारामा तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण सुरु गरिएको थियो । तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण गर्न जनश्रमदान बाहेक रु १३ लाख लाग्ने अनुमान गरिएको थियो ।

    बस्ती निर्माणार्थ जनश्रमदानमा पनि स्थानीय निकै महिना खटेका थिए । स्थानीय युवा विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत साथ दिएका बताए ।

    स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माण सुरु भएपछि डेढसय दिन खटेको थियो । “गाउँमा एकै ठाउँमा चिटिक्कका घर बनाएर बस्ने र पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले काम गर्न जान्थ्यौँ, पैसा छैन भनेर काम रोकिएको दुई वर्ष भैसक्यो”, पञ्चकुमारीले जानकारी दिए ।

    उनले आफुलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको रु ५० हजार पनि प्राधिकरणको सहमतिअनुसारनै पाँच वर्ष अघिनै बस्ती निर्माणका निम्ति प्रदान गरेको थियो ।

    त्यसपछि सरकारसँग सम्झौता गरी तीनधाराका तीस भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् नामक संस्थाले बाँकी किस्ता उपलब्ध नगराएपछि ऋण लिएर स्थानीयले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए ।

    विसं २०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा रु एक करोड ४० लाख निकासा हुँदा ऋणले पिरोलिएका तीनधाराका बासिन्दाले कामलाई तीव्र पारेका थिए ।

    बस्ती निर्माणका लागि स्थानीय तीस भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको रु ५० हजार पनि खर्चिइएको हो । बस्ती निर्माण कार्ययोजनाअनुसार तीस घरले अनिवार्य होम–स्टेका लागि एउटा कोठा व्यवस्था गर्नुपर्ने सम्झौता भएको थियो ।

    नमूना बस्तीमा रु ४० लाखमा एक सामुदायिक भवन निर्माण भएको छ । उक्त सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा, तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङग्रोलगायतका सामाग्री सङ्ग्रह गरिने तथा तिनका बारेमा जानकारी दिने योजना थियो ।

    छ घरको एक ‘ब्लक’ बनाएर छुट्टाछुट्टै पाँच ब्लकमा तीस वटा घर बनाउने योजनाले पूर्णता नपाउँदा तीनधाराका बासिन्दा खिन्न भएका छन् ।


    प्रकाशित : आइतबार, मंसिर २ २०८१११:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार