२०८३, कार्तिक ११ गते बुधबार

किसान प्रेमप्रसादको एकीकृत कृषि

किसान प्रेमप्रसादको एकीकृत कृषि


  • मेरोभ्यूज
  • मंसिर ५, २०८१ बुधबार

  • किसान प्रेमप्रसादको एकीकृत कृषि

    गण्डकी । पोखरा महानगरपालिका–२४ लौरुकका किसान प्रेमप्रसाद अधिकारीका फार्ममा उत्पादन भएका कृषिजन्य वस्तु लेकसाइड आसपासमा खरिद गर्नेको घुइँचो हुन्छ ।

    बजार पुर्‍याइएका तरकारी बिक्री हुँदैन की भन्ने उनलाई चिन्ता लाग्दैन । प्रेमप्रसादले बजारमा जितिरहेको विश्वास उनको एकीकृत कृषिप्रतिको लगाब र मेहनत हो ।

    पहिचान अर्गानिक कृषि फार्म सञ्चालन गरिरहेकाका अधिकारीले फार्ममा एकीकृतरूपमा पशुपालसँगै तरकारीखेती पनि गरिरहेका छन् । गोठमा भैँसीपालन गरिरहेका अधिकारीले दैनिक ४५ लिटर दूध बेचिरहेको छ भने तिनै भैँसीको मलले चारवटा टनेलमा विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी लगाइरहेको छ ।

    सुरुमा गाउँका स्थानीयकोसमेत दूध सङ्कलन गरी सात सय लिटरसम्म बजारमा बिक्री गर्न लैजाने गरेको अधिकारीले बताए । फार्ममा पालिएका भैँसीको मल आफ्नै तरकारीखेतीमा प्रयोग गरी अर्गानिक उत्पादनमा जोड दिएको उनको भनाइ छ ।

    उनले भने, “विषादिरहित मल प्रयोग भएकाले उत्पादित तरकारीको माग पनि बजारमा बढी छ ।” आफ्नो जीवनकालमा विभिन्न अनुभव पनि सँगालेको बताउँदै अधिकारीले सन् २००० देखि २००५ सम्म कतारमा वैदेशिक रोजगारी गरेको जानकारी दिए ।

    त्यसयता लेकसाइडमा होटेल सञ्चालन गरेका उनले २०७२ सालको भूकम्पपछि कृषितर्फ लागेको जानकारी दिए । अर्गानिक खेतीका लागि चाहिने मल गोठबाट उपलब्ध हुने गरेको भन्दै अधिकारीले गोठमा अहिले १८ वटा भैँसी रहेका उल्लेख गरे ।

    लोकल कुखुरापालन पनि गरिरहेका उनले बजारको माग अनुसार कृषिजन्य उत्पादन पुर्‍याउन नसकेको बताए । आफैँ बजारीकरणमा लाग्नुका साथै र परिवारका सदस्यले पनि सहयोग गर्दा काम गर्न सहज भएको अधिकारीको भनाइ छ ।

    व्यावसायिक कृषिमा परिवारजनबाट सहयोग पाएको बताउँदै उनले एकीकृत कृषिबाट जोकोही लाभान्वित हुनसक्ने अनुभव सुनाए । परिवारको सहयोगसँगै उनले अन्य दुई जनालाई दैनिक ज्यालादारीमा रोजगारीसमेत दिँदै आएका छन ।

    “मेरो व्यावसायिक कृषिमा श्रीमती, छोराछोरी, आमा सबैको निरन्तर साथ र सहयोग छ”,  उनले भने, “एकीकृतरूपमा पशुपालन र तरकारीखेती गरेकाले उपभोक्तालाई शुद्ध प्राङ्गारिक उत्पादन पुर्‍याउन सकेको छु ।” उत्पादित वस्तुको बजार लेकसाइड रहेको बताउँदै अधिकारीले धेरै उत्पादन हुँदा पोखरा महानगरपालिकाद्वारा सञ्चालित कृषि एम्बुलेन्स सहयोगी बन्ने उल्लेख गरे ।

    सुरुमा रु दस लाखबाट व्यावसायिक कृषिमा लगानी सुरु गरेको जनाउँदै उनले त्यसयता टनेल निर्माण, गोठलगायत पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगेको बताए ।

    उत्पादित वस्तुको सहज बजारीकरणका साथै आम्दानी पनि प्रशस्तै भइरहेकाले सन्तुष्ट रहेको उनको भनाइ छ । अघिल्लो वर्ष रु एक लाखको साग, रु एक लाखको काँक्रो बिक्री गरेको अधिकारीले जानकारी दिए । धनियाँ, गोलभेडालगायत उत्पादनबाट पनि सोहीअनुसार फाइदा भएको उनले अनुभव सुनाए ।

    गत वर्ष राँगा बिक्रीबाट सबै खर्च कटाएर रु एक लाख ५० हजार आम्दानी भएको उनले जानकारी दिए । अधिकारीले गरेको एकीकृत कृषि अरुका लागि पनि अनुकरणीय भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।

    “पशुपालनसँगै तरकारीजन्य उत्पादन गर्दै आएका अधिकारीले एकीकृतरूपमा कृषिकर्म गरेको छ”, उनले भने, “घरमा पशु पालन भएकाले खेतबारीमा पशुमल प्रयोग भएकाले अर्गानिक तरकारी उत्पादनमा सहयोग पुगेको छ ।” “हाम्रो परिवेशमा एउटै किसानको सयौं रोपनी जग्गा हुने अवस्था पनि छैन”, कडरियाले भने, “थोरै जग्गामा अधिकतम लाभ लिन अब अधिकारीले जस्तै अरुले पनि एकीकृत कृषि प्रणाली अपनाउनु जरुरी छ ।”

    -----


    प्रकाशित : बुधबार, मंसिर ५ २०८१०१:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार