२०८३, कार्तिक १२ गते बिहीबार

पहिरो नियन्त्रणपछि खारुङवासी गाउँ फर्किए

पहिरो नियन्त्रणपछि खारुङवासी गाउँ फर्किए


  • मेरोभ्यूज
  • मंसिर ५, २०८१ बुधबार

  • पहिरो नियन्त्रणपछि खारुङवासी गाउँ फर्किए

    गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए ।

    भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र पुनःनिर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा अविरल वर्षाले सिङ्गो गाउँ नै पहिरोको जोखिममा पर्यो ।

    पहिराले गाउँ नै भासिने अवस्था आएपछि खारुङका केही परिवार विस्थापित भएर कोही चितवन, कोही गोरखाबजार र कोही छेवेटारलगायतका ठाउँमा बसाइँ सरे । पहिराले सिङ्गो गाउँ नै जोखिममा परेपछि गाउँपालिकाले भू तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को सहयोगमा पहिरो नियन्त्रणका काम अघि बढाएसँगै यहाँ पहिरो नियन्त्रणमा आएको छ ।

    पहिरो नियन्त्रणमा आएसँगै बाध्यताले गाउँ छाडेकाहरू पुरानै थाकथलोमा फर्किन थालेको स्थानीयवासी सुकबहादुर तामाङले बताए । “पहिरोले गाउँले सबै तितरवितर भएका थिए”, उनले भन, ‘‘अहिले पहिरो नियन्त्रणमा आएपछि गाउँ छाडेकाहरू पनि फर्किन थालेका छन्, यो वर्षदेखि बल्ल अलि ढुक्क भएको छ ।”

    जोखिमयुक्त ठाउँमा ‘ग्याविन वालसहित अम्रिसो, उतिस, रानी खनायोलगायत वृक्षरोपण गरेर पहिरो नियन्त्रण गरिएको एफएओका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ लीलाजङ्ग गुरुङले जानकारी दिए ।

    पहिरो नियन्त्रण भएपछि गाउँ छाडेर बसाइँ गरेकाहरू अहिले गाउँमै फर्किएको उनको भनाइ छ । अहिलेसम्म पहिरोले विस्थापित भएका छ घरपरिवार गाउँ फर्किसकेको गुरुङले जानकारी दिए ।

    “पहिरोले गाउँ नै लैजान थालेपछि परिवार नै गाउँ छाडेर बसाइँ सरेका थियौँ । नजिक बस्ने ठाउँ थिएन, घरवरपर जताततै पहिरोको त्रासले झण्डै चार वर्ष चितवनमा गएर बसे पनि पहिरो रोकिएपछि गाउँ फर्किएका छौँ”, पहिरोबाट विस्थापित भएका स्थानीय शेरबहादुर गुरुङले भने ।

    पहिरो नियन्त्रण भएसँगै गाउँमा ढुक्कले बस्न सक्ने अवस्था रहेको उनको भनाइ थियो । पहिरो नियन्त्रणका लागि वृक्षरोपण गरेका क्षेत्रमा गाउँलेहरूले पशुवस्तु चरनमा समेत पूर्णरूपमा रोक लगाएका छन् ।

    पहिरो नियन्त्रणका लागि लगाइएको अम्रिसोबाट समूह बनाएर आय-आर्जन गर्ने लक्ष्यसमेत लिएको उनको भनाइ छ । गाउँमा अहिले पहिरोको पूर्वसूचना दिन पूर्ण चेतावनी प्रणाली जडान भएकाले स्थानीयले सुरक्षित महशुस गर्न थालेका छन् ।


    प्रकाशित : बुधबार, मंसिर ५ २०८१०२:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार