२०८३, कार्तिक १३ गते शुक्रबार

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

बुढापाकालाई गाउँ रित्तिने चिन्ता


  • मेरोभ्यूज
  • मंसिर १५, २०८१ शनिबार

  • बुढापाकालाई गाउँ रित्तिने चिन्ता

    ढोरपाटन,बागलुङ । बढ्दो बसाइँ-सराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् ।

    सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् ।

    स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन् ।

    शिक्षा, स्वास्थ्य, यातायात, विद्युतलगायत विकासका पूर्वाधारले दूरदराज जोडिदै गएपछि धेरैले बजार रोज्न थालेको काठेखोला गाउँपालिका–५ बिहुँका डिलाराम पुनले बताए ।

    एक दशक अगाडिसम्म गाउँमा छरछिमेकी हुँदा अर्मपर्म गरेर खेतीपाती गरेको सुनाउँदै अहिले कोही बिरामी भए तत्काल अस्पताल पुर्याउने मान्छे नपाइने अवस्था आएको उनको भनाइ छ ।

    बसाइँ-सराइ बढेपछि गाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिएको उनले सुनाए ।

    पुनले भने, “यो गाउँ कस्तो थियो, अहिले कस्तो बन्यो, सक्नेहरु सबै सहर छिरे, गाउँमा गरिब वर्ग मात्रै छन्, युवाहरु विदेश छन्, हामी बुढाबुढी भइयो, गाउँमै जन्मियौँ, हुर्कियौँ र यही दुःख गरियो, अब गाउँमै मर्ने, यो उमेरमा आफ्नो ठाउँ छोडेर कहाँ जाने ? हामीलाई त अब गाउँ रित्तिने चिन्ता लाग्न थाल्यो ।”

    गलकोट नगरपालिका–५ की मायादेवी श्रीसले नयाँ पुस्ताले सहर बजार रोज्दा गाउँ झाडीले ढाकिने स्थिति आएको बताउछन् ।

    दस वर्ष अगाडिसम्म गाउँका बस्तीमा मान्छेको चाप बढी रहेको भन्दै अहिले अप्ठ्यारो पर्दा सहयोग गर्ने नपाइने उनको भनाइ छ ।

    “पहिले गाउँमा मोटरबाटो थिएन, बजारबाट नून, तेल, चामल बोकेर ल्याउनुपथ्र्यो, खानेपानी ल्याउनका लागि घण्टौँ लाइनमा बस्ने अवस्था थियो, तर अहिले घरै अगाडि मोटर गाडी गुड्छन्, आँगनमै पानीको धारो बनेको छ”, उनले भन, “गाउँमा आएको विकास उपभोग गर्ने मान्छे छैनन्, राज्यले बसाइँ-सराइ रोक्न नसके गाउँको अस्तित्वनै मेटिने डर भयो ।”

    गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बसाइँ-सराइ रोक्नका लागि गाउँमै युवालाई रोजगारसँग जोड्न लघु उद्यमका कार्यक्रम सञ्चालन गरेको भन्दै पशुपालन गर्ने किसानलाई अनुदानको व्यवस्था गरेको बताए ।

    गाउँबाट धेरैजसो शिक्षा र स्वास्थ्यका लागि बसाइँ-सराइ गर्ने गरेको हुँदा नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाइरहेको र स्वास्थ्य क्षेत्र सुधार गरिरहेको प्रवक्ता भण्डारीले जानकारी दिए ।


    प्रकाशित : शनिबार, मंसिर १५ २०८१११:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार