२०८३, कार्तिक १२ गते बिहीबार

विदेशबाट फर्केर फलफूल खेती विस्तार गर्दै अधिकारी

विदेशबाट फर्केर फलफूल खेती विस्तार गर्दै अधिकारी


  • मेरोभ्यूज
  • श्रावण २४, २०८३ आइतबार

  • विदेशबाट फर्केर फलफूल खेती विस्तार गर्दै अधिकारी

     

    भोजपुर । भोजपुरको अरुण गाउँपालिका-७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै उदाहरणीय किसानका रूपमा स्थापित भएका छन् ।

    करिब छ वर्ष मलेसियामा रोजगारी गरेर स्वदेश फर्किएका अधिकारीले विगत पाँच वर्षदेखि फलफूल खेतीलाई मुख्य व्यवसायका रूपमा अँगाल्दै आएका हुन् ।

    अधिकारीले अहिले २५ रोपनी क्षेत्रमा विभिन्न फलफूलका बिरुवा विस्तार गरेका छन् भने बाँकी रहेको करिब सात रोपनी जमिनमा क्रमशः खेती विस्तार गर्ने योजना बनाएका छन् ।

    विदेशमा लिएको सीप, अनुभव र पूँजीलाई आफ्नै गाउँमा प्रयोग गर्दै कृषि पेसालाई दीर्घकालीन आम्दानीको भरपर्दो माध्यम बनाउने लक्ष्य लिएको उनले बताए ।

    अधिकारीले लिची, आँप, अनार, कागती, एभोकाडो (घिउ फल), रुद्राक्ष जस्ता बहुवर्षीय फलफूलका साथै मौसमी तरकारी खेती गर्दै आएका छन् । केही बिरुवाले उत्पादन दिन थालिसकेको जनाउँदै उनले आगामी वर्षमा सबै बिरुवाबाट आम्दानी लिन सकिने विश्वास व्यक्त गरे ।

    “अहिले केही बिरुवाबाट मात्रै आम्दानी शुरु भएको छ,” अधिकारीले भने, “सबै बिरुवा उत्पादनमा आएपछि वार्षिक रु. पाचदेखि रु. दस लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेको छु ।”

    विदेशी भूमिमा वर्षौंसम्म श्रम बेच्नुभन्दा आफ्नै गाउँमा केही गरौँ भन्ने सोचले आफू कृषिमा लागेको उनले बताए ।

    “विदेशमा दुःख धेरै भयो । अब आफ्नै ठाउँमै केही गरेर देखाउने लक्ष्य छ,” उनले भने ।

    अधिकारी करिब २६ वर्ष अरूको जमिनमा बस्दै आएका थिए । अहिले आफ्नै जमिनमा व्यावसायिक खेती विस्तार गर्न पाउँदा उनी उत्साहित छन् । उनको प्रयासले स्थानीयस्तरमा कृषि पेसाप्रति आकर्षण बढ्दै गएको छ ।

    कृषि विस्तारसँगै उनले बाख्रापालन गर्दै आएका छन् । बाख्राबाट उत्पादन हुने गोठेमाल (जैविक मल) प्रयोग गरी बोटबिरुवाको व्यवस्थापन गर्ने गरिएको अधिकारीले बताए । यसले उत्पादन लागत घटाउनुका साथै माटोको उर्वराशक्ति कायम राख्न सहयोग पुगेको उनको अनुभव छ ।

    स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने सम्भावना देखिएको भन्दै अधिकारीले भविष्यमा खेतीलाई अझै विस्तार गर्ने योजना बनाएका छन् ।

    आधुनिक प्रविधि, बजार व्यवस्थापन तथा प्राविधिक सेवामा राज्यले सहज पहुँच उपलब्ध गराए कृषिबाट अझ राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ ।

    “यदि प्राविधिक सेवा र बजार व्यवस्थापनमा सहयोग पाइयो भने कृषिमा लागेका किसानलाई धेरै सहज हुन्छ,” उनले भने ।


    प्रकाशित : आइतबार, श्रावण २४ २०८३१०:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार