गण्डकी । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत कुनै बेला हिलो र झाडीले भरिएको थियो । धानबालीसमेत खासै फस्टाउँदैनथ्यो ।
तर, हिजोआज त्यही ठाउँ प्रकृतिसँग रमाउँदै ट्राउट माछाको स्वाद लिने आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।
‘ज्ञान र सीप सिकेर स्वदेशमै फर्क साथी, त्यही सीपले देश उठाउनुछ माथि’ भन्ने सन्देशमूलक सोचका साथ २०६७ सालमा जापान र बेलायतको सेवासुविधा त्यागेर स्वदेश फर्कनुभएका दुई दाजुभाइले शुरु गरेको ‘गण्डकी ट्राउट फार्म’ पछिल्लो समय मनग्य आम्दानी र रोजगार सृजनाको आधार बनेको हो ।
भारतीय सेनाबाट अवकाशप्राप्त भइ लामो समय जापान बस्दै आएका कास्की रिभानका अमृत गुरुङ र धान्द्रुकमा जन्मी हङ्कङ, बेलायतको व्यापार व्यवसाय त्यागेर नेपाल फर्केका लच्छीन गुरुङले सो फार्म शुरु गरेका थिए ।
उनीहरूबीच एउटा साझा सोच मिल्यो, ‘विदेशमा सिकेको ज्ञान र सीपलाई स्वदेशमै उपयोग गर्ने ।’
आफ्नै गाउँठाउँमा केही नयाँ व्यवसाय गर्ने अठोटका साथ नेपाल फर्किएका उनीहरूले पोखरा र आसपासमा ट्राउट माछापालनको सम्भावना खोजे ।
अन्ततः माछापुच्छ्रे–३ स्थित मूलको चिसो पानी र न्यूनतम १६ र अधिकतम १८ डिग्री सेल्सियस तापक्रम भएको स्थान ट्राउट माछाका लागि उपयुक्त देखेपछि २२ रोपनी जग्गा खरिद गरेर व्यवसाय शुरु गरेका थिए ।
दुईवटा पोखरीबाट शुरु गरिएको गण्डकी ट्राउट फार्म आज विस्तार हुँदै ६० वटा पोखरीसम्म पुगेको छ ।
तत्कालीन गण्डकी अञ्चलमै पहिलो पटक शुरु गरिएको यो ट्राउट फार्म अहिले सफल उदाहरणका रूपमा स्थापित भएको छ । यो प्रयास अहिले सबैका लागि उदाहरणीय बनेको छ । विदेशमा अवसर खोज्ने युवाका लागि यो फार्मले झनै प्रेरणा दिएको छ ।
विशेषगरी ट्राउट माछा ओमेगा–३ पोषकतत्वले भरिपूर्ण हुन्छ, जसमा नरम काँडा भएका कारण ज्येष्ठ नागरिक र बालबालिकालाई पनि खान सजिलो हुनुका साथै जुन स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।
यही कारणले गर्दा यो ट्राउट फार्म पछिल्लो समय पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्ने गरेको छ ।
दैनिक चार सय बढी पाहुना यहाँ आउने गर्छन् । शनिबार भने यो सङ्ख्या एक हजार पाच सय नाघ्ने गरेको सञ्चालक लच्छीन गुरुङ बताउँछन् ।
फार्ममा एक केजी माछा पकाएको एक हजार सात सय लिने गरेको उनले बताए ।
गुरुङले भने, “रेस्टुरेन्टसँगै आरामदायी कटेजको पनि व्यवस्था गरिएको छ ।
रातमा बस्ने पाहुना थपिए भने पालको समेत व्यवस्था गरिन्छ, जसले पर्यटक थप आकर्षित हुने गरेका छन् ।”
वार्षिक तीन करोड रुपैयाँ बराबरको २५ टन माछा उत्पादन हुने गरेको उनले बताए । उमेरले ६६ वर्षीय लच्छीन भन्छन्, “फार्ममा अहिलेसम्म सात करोड लगानी भइसकेको छ । चौबीस जनाले दैनिक र दस जनाले अप्रत्यक्ष रूपमा रोजगार प्राप्त गरेका छन् ।”
माग अत्यधिक भएपछि आफ्नै उत्पादनले मात्र अपुग हुने हुँदा आसपासका अन्य फार्मबाट पनि माछा खरिद गर्ने गरेको उनको भनाइ छ ।
यसबाहेक भुरा उत्पादनका लागि धान्द्रुकमा २५ लाख रुपैयाँ लगानीमा भुरा उत्पादनका लागि ह्याचरी निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
अमृत भने ६५ वर्षको भए । उनीहरूको यो व्यवसायलाई निरन्तरता दिन परिवारको पूर्ण सहयोग रहेको अमृतले बताए । उनका अनुसार नेपाल सरकार र विभिन्न स्वदेशी तथा विदेशी सङ्घ/संस्थाबाट पनि राम्रो सहयोग मिलेको छ ।
पोखरा आउने दुई प्रतिशत पर्यटक सो क्षेत्रमा पुर्याउन सके मात्र पनि पर्यटकको एक दिनको बसाइ लम्ब्याउन र थप रोजगार सिर्जना गर्न सकिने उनले बताए ।
सो स्थानसम्म पुग्न पोखरा पुरानो बजार महेन्द्रपुलबाट नदीपुर, बगर, लामाचौर, अकला, पुरन्चौर हुँदै लगभग १७ किलोमिटर दूरी छ ।
प्रकृतिसँग रमाउँदै स्वादिलो ट्राउट माछा चाख्न पाइने यो स्थान अहिले केवल व्यवसाय मात्र होइन, आत्मनिर्भरता र प्रेरणाको केन्द्र बनेको सो फार्ममा पुग्ने जोकोही बताउँछन् ।
यहाँ परम्परागत लिङ्गे, चारपिर्के पिङ, पौडीपोखरीलगायत मनोरञ्जनका सामग्री पनि राखिएका छन् । जसका कारण टिकटकलगायत सामाजिक सञ्जालमा रमाउनेहरू पनि यहाँ आउने गर्छन् ।

