मकवानपुर । केही वर्षअघिसम्म हेटौँडा उपमहानगरपालिका–१२, घलेगाउँकी ३८ वर्षीया श्रिया गुरुङको दैनिकी अधिकांश ग्रामीण नेपाली महिलाको जस्तै थियो ।
बिहान सबेरैदेखि घरधन्दा, परिवारको हेरचाह, पशुपालन र खेतबारीको काममा दिन बित्थ्यो । दिनभर काम गरे पनि आफ्नो नाममा आम्दानी भने थिएन ।
परिवारको खर्च धान्न श्रीमानको कृषि आम्दानीमा भर पर्नुर्थ्यो । एउटी छोरीको भविष्य, घरखर्च र बढ्दो आर्थिक दायित्वले उनलाई सधैँ चिन्तित बनाइरहन्थ्यो ।
“आफ्नो कमाइको एक रुपैयाँ पनि थिएन,” श्रिया विगत सम्झँदै भन्छन्, “भविष्यको चिन्ता त धेरै थियो, तर सम्भावना भने केही थिएन । गाउँमै केही गरौँ भन्ने सोच थियो, तर कसरी सुरु गर्ने भन्ने आधार थिएन ।” गाउँघरमा हरेक वर्ष बनाइने गुन्द्रुक उनका लागि घरायसी परिकार मात्र थियो ।
हिउँदका लागि साग जोगाउने परम्परागत तरिकाभन्दा बाहिर गएर कोही कसैले पनि व्यवसायको रूपमा हेरेको थिएन । त्यसैले गुन्द्रुकले नै आफ्नो जीवन बदल्न सक्छ भन्ने कल्पना उनले कहिल्यै गरेकी थिइनन् ।
“हामीलाई त गुन्द्रुक बेचेर पनि उद्यमी बन्न सकिन्छ भन्ने लागेको नै थिएन,” उनि भन्छिन्, “यो सपना देखाउने काम ग्रिन फाउन्डेसन नेपालले गर्यो, र त्यो सपनालाई व्यवहारमा उतार्ने वातावरण हेटौँडा उपमहानगरपालिकाले बनाइदियो ।”
ग्रिन फाउण्डेसन नेपालले तालिम र सामग्री हस्तान्तरणसहित शुरु गराएको उद्यममा हेटौँडा उपमहानगरपालिकाले सञ्चालन गरेको सीपमूलक तालिम, प्रारम्भिक आर्थिक सहयोग र उद्यम सञ्चालनसम्बन्धी परामर्शले श्रियाको सोच परिवर्तन गरिदियो ।
त्यसपछि उनले गाउँका अन्य महिलासँग मिलेर कञ्चनजङ्घा कृषि सहकारी संस्था लघु उद्यमी उद्योग स्थापना गरिन् ।
शुरुवात भने निकै सामान्य थियो । उद्योगमा संलग्न महिलाले वार्षिक प्रतिकट्ठा रु. एक हजार पाच सयका दरले १५ कट्ठा जग्गा भाडामा लिए । आफ्नै पसिना बगाएर रायोको साग लगाइयो र त्यसबाट ‘अर्गानिक’ गुन्द्रुक उत्पादन शुरु भयो ।
तर उत्पादन शुरु गर्नु जति चुनौतीपूर्ण थियो, बजार खोज्नु त्योभन्दा कठिन बन्यो ।
पहिलो वर्ष खेतमा मिहिनेतको कमी भएन । राम्रो उत्पादन भयो । तर बजारले ढोका खोलेन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको सरकारी अनुज्ञापत्र नहुँदा उत्पादन बजारसम्म पुर्याउन सकिएन ।
लाखौँ रुपैयाँ बराबरको गुन्द्रुक गोदाममै थन्कियो । बिक्री नहुँदा लगानी डुब्ने चिन्ता र भविष्यप्रतिको अन्योलले धेरै रात निद्रा हरायो ।
“कति दुःख गरेर उत्पादन गर्यौँ,” उनी सम्झन्छिन्, “तर बेच्न नपाउँदा मन नै खिन्न हुन्थ्यो । मेहनत खेर जाने हो कि भन्ने डर लाग्थ्यो । तर हामीले हार मानेनौँ ।”
त्यही धैर्यले अन्ततः फल दियो । हेटौँडा उपमहानगरपालिकाको सहजीकरणमा उत्पादनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट सरकारी अनुज्ञापत्र प्राप्त गर्यो । सरकारी मान्यता पाएपछि उत्पादनप्रति बजारको विश्वास बढ्यो । व्यवसायी आफैँ सम्पर्कमा आउन थाले । ‘अर्डर’ बढ्न थाल्यो र बिक्रीको बाटो खुल्यो ।
“पहिले बिक्री नहोला कि भन्ने डर थियो,” श्रिया मुस्कुराउँदै भन्छिन्, “अहिले त मागअनुसार उत्पादन नपुग्ला कि भन्ने चिन्ता छ ।” अहिले समूहलाई यस वर्षको उत्पादन मात्र होइन, आगामी वर्षका लागि आएको मागसमेत पूरा गर्न भ्याइनभ्याइ छ ।
सुरुमा ११ जना रहेको समूह अहिले २० सदस्यीय बनेको छ । खेती विस्तार हुँदै गएको छ । हाल ३० कट्ठा जग्गामा खेती भइरहेको छ । निकट भविष्यमा ५० कट्ठासम्म विस्तार गर्ने योजना छ ।
उत्पादन बढेसँगै आगामी दिनमा ५० जनाभन्दा बढी स्थानीय महिलालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य पनि समूहले लिएको छ ।
उत्पादित गुन्द्रुक मकवानपुर, सिन्धुली र काठमाडौँमा बिक्रीका लागि जाने गरेको छ । अहिले माग पूरा गर्न हम्यहम्य परेको उनको भनाइ छ ।
उत्पादनलाई वर्षभरि निरन्तरता दिन समूहले छ महिनासम्म अर्गानिक गुन्द्रुक उत्पादन गर्छ भने बाँकी समय विभिन्न प्रकारका अचार उत्पादन गर्छ । अर्को एक संस्थाको प्राविधिक सहयोगमा अचार प्रशोधन, प्याकेजिङ र बजारीकरणको काम भइरहेको छ ।
समूहले करिब तीन सय किलोग्राम अचार उत्पादन गरेको छ । प्रतिकिलोग्राम रु. एक हजारका दरले बिक्री गर्दै आएको छ । यसबाट एक उत्पादन चक्रमै करिब रु. तीन लाख बराबरको कारोबार हुने गरेको छ । गुन्द्रुकको बजार पनि निरन्तर विस्तार भइरहेको छ ।
समूहले उत्पादन गरेको ‘अर्गानिक’ गुन्द्रुक अहिले प्रतिकिलोग्राम रु. आठ सयमा बिक्री हुन्छ । स्थानीय बजारसँगै अन्य जिल्लाबाट पनि माग आउन थालेको छ ।
अर्गानिक गुन्द्रुक केवल नेपाली भान्साको परम्परागत स्वाद मात्र होइन, पोषणले भरिपूर्ण खाद्य पदार्थ पनि हो । गुन्द्रुकमा फाइबर, आइरन, क्याल्सियम पाइन्छ ।
यसले पाचन प्रणालीलाई सहज बनाउन, आन्द्राको स्वास्थ्य सुधार गर्न र शरीरलाई आवश्यक पोषक तत्व उपलब्ध गराउन सहयोग गर्ने विश्वास गरिन्छ ।
पछिल्ला वर्षहरूमा रसायनमुक्त तथा अर्गानिक खाद्य पदार्थप्रति उपभोक्ताको आकर्षण बढेसँगै यसको माग पनि बढ्दै गएको छ । यही परिवर्तनले ग्रामीण महिलाले उत्पादन गरेका परम्परागत खाद्यवस्तुको बजारीकरण भएको छ ।
श्रियाको जीवनमा आएको परिवर्तन केवल आर्थिक मात्रै छैन । उनको आत्मविश्वास, सामाजिक पहिचान र निर्णय गर्ने क्षमता पनि बढेको छ ।
पहिले घरखर्चका लागि श्रीमानको आम्दानीमा निर्भर रहनुपर्ने उनी अहिले आफ्नै आम्दानीबाट परिवार चलाउन, छोरीको शिक्षामा लगानी गर्न र समूहका अन्य महिलालाई नेतृत्व गर्न सक्षम भएकी छिन् ।
“घरमै बसेर केही हुँदैन भन्ने सोच बदलिएको छ,” उनी भन्छिन्, “अवसर, सीप र बजार पाए गाउँका महिलाले पनि धेरै गर्न सक्छन् भन्ने प्रमाण हामीले दिएका छौँ ।”
हेटौँडा उपमहानगरपालिकाको करिब रु. एक लाख र सहकारीको रु. ८० हजार प्रारम्भिक लगानीबाट शुरु भएको यो उद्यम आज ग्रामीण महिलाको आर्थिक रूपान्तरणको उदाहरण बनेको छ ।
परम्परागत रूपमा घरभित्र सीमित रहेको गुन्द्रुकलाई व्यवसायमा रूपान्तरण गर्दै महिलाले आफ्नै गाउँमा रोजगारी सिर्जना गरेका छन् ।
यसले स्थानीय कृषि उत्पादनको मूल्य बढाएको छ भने महिलाको श्रमलाई प्रत्यक्ष आम्दानीसँग पनि जोडेको छ ।
हेटौँडा उपमहानगरपालिकाका धेरै गृहिणीहरू अहिले साना तथा घरेलु उद्यम सञ्चालन गरेर आत्मनिर्भर बन्दै गएका छन् ।
कसैले अर्गानिक गुन्द्रुक उत्पादन गरिरहेका छन्, कसैले अचार, धूप, दलमोठ, हस्तकला, बेसार तथा अन्य स्थानीय उत्पादनलाई व्यवसायमा रूपान्तरण गरेका छन् ।
यसले महिलाको आयआर्जन बढाउनुका साथै स्थानीय स्रोत, सीप र परम्परागत ज्ञानलाई पनि आर्थिक मूल्यसँग जोड्न सफल भएको छ ।
एक समय आफ्नो परिवारको भविष्यबारे चिन्तित रहने श्रिया आज अरू महिलाका लागि प्रेरणाको स्रोत बनेकी छिन् ।
उनको कथा केवल एउटा गुन्द्रुक उद्योगको सफलता होइन, अवसर, सीप, स्थानीय सरकारको सहयोग र महिलाको आत्मविश्वास एकसाथ जोडिँदा गाउँमै बसेर पनि सम्मानजनक जीवन र दिगो आम्दानी सम्भव हुन्छ भन्ने जीवन्त उदाहरण हो ।

