२०८३, कार्तिक ११ गते बुधबार

गलैँचा बुन्न व्यस्त महिलाहरू

गलैँचा बुन्न व्यस्त महिलाहरू


  • मेरोभ्यूज
  • श्रावण २२, २०८३ शुक्रबार

  • गलैँचा बुन्न व्यस्त महिलाहरू

     

    दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो । तर, हिजोआज उनी गलैँचा बुन्न व्यस्त छिन् । उनी गलैँचा बुनेर घरखर्च चलाउने योजनामा छिन् ।

    “पहिले भाँडा माझ्ने र पशुचौपायालाई घाँस दिने मात्रै काम हुन्थ्यो, तर अहिले गलैँचा बुन्न थालेकी छु, अब घरखर्च चलाउन सजिलो हुनेछ”, चौधरीले भनिन् ।

    त्यसैगरी, सोही ठाउँकी मनकला बुढामगर पनि गलैँचा बुन्नका लागि तान मिलाउँदै थिइन् । विगतमा गलैँचा हातले बुनिन्छ भन्नेसमेत थाहा थिएन । तर, अहिले आफैँले हातले गलैँचा बुन्न थालेकी छिन् ।

    “पहिला हातले गलैँचा बुनिन्छ भन्ने पनि थाहा थिएन”, बुढामगरले भनिन्, “तर अहिले आफैँले बुन्न थालेकी छु ।” उनको पनि छोराछोरीलाई विद्यालय पठाएपछि घरमै टिकटक चलाएर बस्ने अवस्था थियो । अहिले उनी गलैँचा बुन्न व्यस्त हुन थालेकी छिन् ।

    घरेलु तथा साना उद्योग कार्यालय दाङले ६५ दिने तालिम प्रदान गरेपछि उनीहरू अहिले यसरी गलैँचा बुन्न व्यस्त भएका हुन् । महिलाहरूलाई आम्दानीमा जोड्नका लागि तालिम प्रदान गरेपछि उनीहरू आफैँ गलैँचा बुन्न थालेका हुन् । आफूहरूले बुनेका गलैँचाको बजारीकरण कसरी गर्ने भन्ने चिन्ता पनि छैन ।

    “गलैँचा बुनेपछि सबै काठमाडौँका उद्योगमा लगेर बिक्री गरिदिन्छ रे”, सोही ठाउँकी दीपा बाँठामगरले भनिन्, “त्यसैले पनि हामीलाई गलैँचा बुन्न हौसला मिलेको छ ।”

    सोही ठाउँका २० जनालाई गलैँचा बुन्ने तालिम प्रदान गरिएको थियो । उनीहरू सबैलाई गलैँचा बुन्नका लागि मेसिन प्रदान गरेपछि अहिले आफैँले यसरी गलैँचा बुन्न थालेका हुन् भन्दै घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्माले बताए ।

    “हामीले तालिम प्रदान गरेर मेसिन पनि उपलब्ध गराएका छौँ, उनीहरूले उत्पादन गरेका गलैँचा बेच्न व्यवस्था मिलाएका छौँ”, उनले भने, “यसले उनीहरूको आम्दानीको स्रोत बढ्ने अपेक्षा गरेका छौँ ।” काठमाडौँबाट मनोजकुमार श्रेष्ठ र सरस्वती तामाङले तालिम प्रदान गरेका हुन् ।


    प्रकाशित : शुक्रबार, श्रावण २२ २०८३०९:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार