धरान, सुनसरी । बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसान कोदो खेतीप्रति आकर्षित भएका छन् ।
यहाँका किसानले हाल धान र मकै लगाउने खेतबारीमा चारैतिर कोदो लगाएका छन् ।
स्थानीय अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा जग्गामा बर्सेनि कोदो रोप्ने गरेको बताए । अरु कृषि बालीको तुलनामा कोदो खेती लगाउन सहज र उत्पादन पनि राम्रो हुने भएको आफू यसतर्फ आकर्षित भएको उनको भनाइ छ ।
“विगत १७ वर्षदेखि कोदो खेती गर्दै आएका थिए । पछिल्लो समय यसैबाट घर खर्च पुग्ने गरी यही खेती गरिरहेको छु । व्यावसायिकरूपमा उत्पादन सुरु गरेपछि सन्तोषजनक आम्दानी भइरहेको छ”, विश्वकर्माले भने ।
उनले कोदोको बहुउपयोगिताका कारण पनि किसानहरू यसतर्फ आकर्षित भइरहेको सुनाए ।
विश्वकर्माका अनुसार कोदोबाट कतिपय किसानले घरेलु मदिरा, तोङ्बा बनाएर बिक्री गरेर लाखौँ आम्दानी गरिरहेका र त्यो नगर्नेहरूले पनि पारिवारिक उपभोग तथा बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन् ।
अर्का किसान शान्ता घिमिरेले पनि मकै र धान खेतीमा जोड दिन छोडेर आफू पनि कोदो खेतीमा लागेको सुनाए ।
उनले भने, “धान र मकैमा जति दुःख गरिन्छ, त्यसअनुसार उत्पादन हुँदैन । रोग, किरा लागेर कहिलेकाही मेहनत त्यसै खेर जान्छ तर कोदोमा खासै त्यस्तो हुँदैन । पछिल्लो समय रोग लागेको छैन, उत्पादन राम्रो भएको छ । त्यसैले आम्दानी राम्रै हुने गरेको छ ।
एक कठ्ठा जग्गामा एक सय वीस किलोग्रामभन्दा बढी उत्पादन हुने गरेको छ । बिक्रीका लागि समस्या पनि हुँदैन ।
स्थानीय बजारलगायत इनरुवा, इटहरी, धरानमा बिक्रीका लागि पठाउने गरेकी छु ।
किसान नारायण विक पनि १६ कठ्ठा जग्गामा कोदो खेती गर्दै आएको छ । उनले मकै, धानलगायत खेती लगाउन छोडेर यस खेतीतर्फ लागेको पाँच वर्षभन्दा बढी भयो । “कोदो खेती गरेर पछुताउनुपरेको छैन । राम्रो आम्दानी भइरहेको छ ।
कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा, तोङ्बा बनाएर बिक्री गर्दै आएको छु, विश्वकर्माले भने, “कोदो बिक्रीका लागि इनरुवा, इटहरी, धरान जाने गरेको छु । प्रतिकेजी रु ७० देखि एक सयमा बिक्री हुन्छ । तोङ्बा बनाएर रु एक सय ५० मा एक तोङ्बा बिक्री हुन्छ भने कोदोको रक्सी एक बोतलको रु दुई सयमा घरैबाट बिक्री हुन्छ । त्यसैले कोदो उत्पादन गर्न सक्यो भने राम्रो आम्दानी हुन्छ ।”
उनले कोदो खेती गर्ने किसानलाई स्थानीय तथा प्रदेश सरकारले आर्थिक अनुदान र प्रोत्साहन गर्नसके थप सहज हुने बताउछ । कम्तीमा बीउ मात्रै उपलब्ध गराए पनि किसानलाई सहयोग पुग्ने विश्वकर्माको भनाइ छ ।
हाल बराहक्षेत्र-६ मा मात्र १५ परिवारभन्दा बढी कोदो खेती गर्ने किसान रहेका छन् ।
स्थानीय अर्जुन विष्टले कोदो खेतीतर्फ राम्रो प्रगति भएको सुनाए । सुनसरीमा हाल चार सय ५८ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय कोदो खेती गर्नेको सङ्ख्या समग्रमा घट्नै गएको र त्यसले मूल्य वृद्धि हुँदा हाल यसमा लागेका किसानले राम्रो आम्दानी गरेको छ ।
“कोदोमा धुसिजन्य रोग लागेन भने सुनसरीमा कोदोको उत्पादन राम्रो हुने गरेको छ । पछिल्लो समय कोदोबाट विशेष गरी घरेलु मदिरा, तोङ्बा र पिठो बनाएर प्याकेजिङ गरेर बिक्री गर्ने गरेकाले राम्रो आम्दानी भइरहेको हो”, सूचना अधिकारी श्रेष्ठले भने ।
यहाँ धरान उपमहानगरपालिकाका वडा नं ४, ५, ६ र २० र बराहक्षेत्र नगरपालिकाका वडा नं १, ६ र ५ लगायतका ठाउँहरूमा बढी कोदो खेती हुने गरेको छ ।
कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, भिटामिन बी, टिप्टोफेन, एन्टिअक्सिडेन्टलगायतका थुप्रै तत्व पाइनाका साथै कोदोको पिठोको प्रयोगले मुटु सम्बन्धी रोग नियन्त्रणसँगै पेटलाई स्वस्थ बनाउने भएकाले यसलाई राम्रो बाली मानिन्छ ।

