२०८३, कार्तिक १३ गते शुक्रबार

घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो

घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो


  • मेरोभ्यूज
  • मंसिर १६, २०८१ आइतबार

  • घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो

    त्रिवेणी ,नवलपरासी । नवलपरासी-बर्दघाट-सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घर-घरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ ।

    घरमा धारा नहुँदा खोला तथा घरदेखि पर रहेको ट्याङ्कीबाट पानी बोक्नुपर्ने बाध्यता थियो ।

    देवचुली नगरपालिकाको पहाडी क्षेत्रअन्तर्गत पर्ने मौलाथुम्कीका भीमकुमारी लुङ्गेलीले अहिले घरमा धारामा पानी आएसँगै पहिले आफूहरूले गरेको दुःख बिर्सिएको बताए ।

    खोलाबाट पानी बोक्दा दिनै बित्ने गरेकोमा अहिले घरमा धारा जोडिएपछि आफूहरूको दैनिकी नै फेरिएको उनले बताए ।

    “घरमा एक जनाको काम नै पानी बोक्ने हुन्थ्यो, अब घरमै धारा आएपछि खेतीपाती र पशुपालनमा समय दिन सकिने भयो”, उनले भने, “बल्ल डोकोमा पानी बोक्ने दिन सकिए ।”

    घरमै धारा अनि चौबीसै घण्टा पानी भएपछि दैनिक काम गर्न सहज भएको स्थानीय लालमाया बरालले बताए ।

    पानीको सहजतासँगै घरको सरसफाइ, खेतीपाती र अन्य काममा समय दिन सहज भएको उनको भनाइ छ ।

    पहिला खोलाको छेउमा तरकारी लगाउने गरेका मौलाथुम्कीवासीलाई अहिले घर-घरमा तरकारीलगायत अन्य खेती गर्न सहज हुनुका साथै समयको समेत बचत भएको छ ।

    देवचुली नगरपालिका र वास नमूना गाउँ परियोजनाको सहयोग तथा स्थानीयको श्रमदानमा रु १५ लाख ३९ हजार लागतमा एक घर, एक धारा निर्माण गरिएको हो ।

    स्थानीयलाई खानेपानीको समस्या भएपछि वास नमूना गाउँ परियोजनासँग सहकार्य गरी खानेपानीको विस्तार गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताए ।

    पानीको सहजताले घरमा सबैको समय बचत हुनुका साथै कृषि तथा पशुपालनमा सहयोग पुगेको मौलाथुम्की खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष गिरिप्रसाद बरालले जानकरी दिए ।

    “पहिला नगरपालिकाले सानो खानेपानी ट्याङ्की बनाएको थियो, गाउँका सबैले त्यहाँबाट डोकामा पानी बोक्नुपर्ने बाध्यता थियो”, उनले भने ।

    अहिले सबैको घरमा तरकारी उत्पादन भएपछि तरकारी किनेर खानुपर्ने बाध्यता पनि हटेको छ ।

    देवचुली नगरपालिका र वास नमूना गाउँ परियोजनाको साझेदारीमा मौलाथुम्कीमा खानेपानी तथा सरसफाइ अभियान सञ्चालन गरिएको परियोजनाका व्यवस्थापक प्रवीण घिमिरेले बताए ।

    परियोजनाले देवचुली–५ र ६ मा ग्रामीण खानेपानी स्तरोन्नतिसँगै समुदायमा सरसफाइसम्बन्धी अभियान सञ्चालन गर्दै आएको छ ।


    प्रकाशित : आइतबार, मंसिर १६ २०८१०९:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार