डुम्रे, तनहुँ । “बस्ने घर नभए पनि बाँझो जमिनलाई उपयोग गर्दै सुन्तला खेतीमा लागेको छु”, तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी निवासी मोहन रानाभाट भन्छ, “यहाँ बस्ने अवस्था छैन ।”
उनी म्याग्दे–१ थानसिंस्थित जङ्गल बनेको पुर्ख्यौली जमिन सफाइ गरी सुन्तला खेतीमा व्यस्त हुन्छ । पानी अभावले गाउँबाट नै बस्ती सरेर बेँसी गुणादीमा झरेका मोहन अहिले बाँझो जमिनमा सुन्तला खेती गर्दै छन् । उनी भन्छ, “अन्य खेती गर्न समस्या भए पनि सुन्तला खेतीलाई कम पानीले पुग्ने भएकाले यसतर्फ आकर्षित भएको हुँ ।”
बाँझिएको पुर्ख्यौली जमिनको उपयोग गर्दै उनी अहिले नौ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरिरहेका छन ।
आर्थिक वर्ष २०८०/८१ मा उक्त बाँझिएको जमिन सफा गरी दुई सय ५० बिरुवा रोपेर उनी सुन्तला खेतीमा लागेको छ । चालु वर्षमा भने उनले ४४ सुन्तलाका बिरुवा थपेको छ । उनी भन्छ, “कोभिड १९ को बन्दाबन्दीपछि गाउँमै गरिएको खेतीले सुरक्षित बनाउँछ भन्ने महशुस भएर सुन्तला खेतीतर्फ लागेको हुँ, आफ्नो जमिन खेर फालेर अन्य पेसामा लाग्नुभन्दा आफ्नैमा नाफाघाटा बेहोरौँला भनेर जङ्गल बनेको बाँझो जमिनमा सुन्तला लगाएको छु, केही वर्षमा उत्पादन लिनसक्ने देखिएको छ ।”
सिँचाइ अभाव भएकाले कृषि ज्ञान केन्द्र तनहुँबाट हिलट्याङ्क अनुदानमा पाएपछि सहज भएको उनले बताए ।
उनी जस्तै व्यास नगरपालिका–१ हाई स्कुलटार निवासी नारायण रानाभाट पनि बाँझो जमिनको उपयोग गर्दै सुन्तला खेतीतर्फ आकर्षित भएको छ । बाँझिएर जङ्गल बनेको पुर्ख्यौली जग्गा फँडानी गरी सुन्तला खेती गर्दै आएको छ ।
बिहान सुन्तलाको रेखदेख गर्न बगैँचामा पुग्ने र साँझ घर फर्किने गरेको उनी बताउछ ।
कृषि ज्ञान केन्द्रको सुन्तला खेती विस्तार कार्यक्रमले सुन्तला खेतीतर्फ किसान आकर्षित भएका छन् ।
झाडी बनेको जमिनको उपयोगलाई प्राथमिकता दिएर ल्याइएको सुन्तला खेती विस्तार कार्यक्रमले यसतर्फ सर्वसाधारण आकर्षित भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछाने बताउछ ।
उनका अनुसार धेरै ठाउँमा बाँझो जमिनमा सुन्तला खेती विस्तार भइरहेको छ । उनी भन्छ, “झाडी सफाइ गरी अहिले किसानले सुन्तला खेतीको स्याहारसुसारले उत्पादन बढ्दो रहेको छ, यसले कृषिमा युवाको आकर्षण बढेको तथ्याङ्कले देखाएको छ ।”
सुन्तला बगैँचाबाट नै खरिद बिक्री हुने हुँदा पनि किसान यस खेतीतर्फ आकर्षित भएको उनी बताउछ ।
यहाँको सुन्तला विशेषगरी काठमाडौँ, चितवन, पोखरालगायत बजारमा बिक्री वितरण हुने गरेको छ ।
बाँझो जमिनमा गत आर्थिक वर्ष पाँच हजार ६ सय बिरुवा रोपण गर्न अनुदान दिइएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले बताए ।
उनका अनुसार जिल्लाका विभिन्न स्थानका दुई सय ५५ रोपनी क्षेत्रफलमा सुन्तला खेती विस्तार गरिएको छ । तीमध्ये १० रोपनी क्षेत्रफलको सुन्तलाका बिरुवा मरेको उनी बताउछ ।
उनले भने, “राम्रो बच्चा बनाउनका लागि सानो गरिएको स्याहारसुसारले भविष्यमा असल बनाउँछ भनिन्छ नि, त्यसैगरी सुन्तलाका साना बिरुवालाई पनि सरसफाइ तथा हेरचाह राम्रो भएमा उत्पादन राम्रो हुन्छ ।”
जिल्लामा विशेषगरी बिज बिरुवा नै रोपण गर्ने गरिएको ज्ञान केन्द्रले जनाएको छ ।
“हाइब्रिडको प्राक्टिस भएको पाएका छैनौँ”, सूचना अधिकारी परियारले भने । जिल्लाकै देवघाट गाउँपालिका–२ नरमस्थित नर्सरीमा उत्पादित सुन्तलाका बिज बिरुवा अनुदानमा अन्य क्षेत्रका किसानलाई वितरण गर्ने गरिएको उनले बताए ।
बसाइँ-सराइ गरेका थानसिं गाउँका स्थानीय गाउँमा फर्केर झाडी बनेको बाँझो जमिनमा सुन्तला खेती गर्ने क्रम बढ्दै गएको छ ।
म्याग्दे–२ सुन्तला खेतीको प्रख्यात ठाउँ हो । यसका साथै १ र ३ नम्बर वडाका केही स्थानमा सुन्तला खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पकेट क्षेत्रको क्षेत्रफल बढ्ने क्रममा रहेको केन्द्रको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा जिल्लाका एक हजार ६ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा एक हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । आव २०७९/८० मा ११ हजार चार सय ६० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ११ हजार पाँच सय १८ मेट्रिकटन सुन्तला उत्पादन गरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षमा केही क्षेत्रफल वृद्धि हुनेगरी विस्तार भइरहेको केन्द्रले जनाएको छ । यस तथ्याङ्कका आधारमा पनि सुन्तला खेतीको क्षेत्रफल वृद्धि भएको देखिन्छ । चालु आर्थिक वर्षमा सुन्तला खेतीकै लागि बजेट छुट्याएर आएकाले अझ सहज भएको र यसको क्षेत्रफलसमेत वृद्धि हुने देखिएको केन्द्रले जनाएको छ । राष्ट्रिय फलका रुपमा सूचीकृत सुन्तला खेतीमा सरसफाइ र स्याहार पुगेमा उत्कृष्ट सुन्तला यहाँ उत्पादन हुने केन्द्रले जनाएको छ ।
प्रकाशित :
बुधबार, मंसिर २६ २०८११०:५५
मेरोभ्यूज
मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।