उद्यमशील तालिमपछि व्यावसायिक बन्दै महिलाहरू
बरहथवा, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कालीका स्थानीय महिलाले लघुउद्यम गरेर आम्दानी गर्न थालेका छन् ।
स्थानीय नौजना महिलाको समूहले गाउँघरमै लघुउद्यम गरेर फुर्सदको समयमा थोरै भए पनि आम्दानी गर्न सुरू गरेका हुन् ।
हरिवन नगरपालिका–५, वडा कार्यालयले महिला सशक्तीकरणका लागि छुट्याएको बजेटबाट लिएको तालिमले अहिले उद्यमी–व्यवसायी बनाएको आमा शक्ति महिला लघुउद्यमी समूहकी अध्यक्ष शिलाकुमारी महतोले बताए ।
“हामी आमा आमाहरू मिलेर समूह बनाएका छौँ”, उनले भने, “आमाहरूका लागि अत्यावश्यक सरफ (डिटरजेन्ट पाउडर) बनाउने सुरू गरेका छौँ ।” वडा कार्यालयले दिएको तालिमबाट स्थानीय नौजना महिलाको समूहले ‘आमा शक्ति’ नामको सरफ उत्पादन सुरू गरेको हो ।
महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यसहित दुई वर्ष पहिला वडा कार्यालयले जीवन उपयोगी तालिमको अवधारणा ल्याएको थियो ।
सोही तालिममा सहभागी स्थानीय महिलाजनले जनही रू पाँच हजारका दरले पुँजी जम्मा गरेर आमा शक्ति महिला लघुउद्यमी समूह दर्ता गरेका हुन् । सुरूमा हातैले केमिकलहरू मिक्स गरेर प्याकिङ गर्ने र आफैँले प्रयोग गर्न सुरू गरेको समूहकी कोषाध्यक्ष सजनी स्याङ्तान बताए ।
त्यसरी व्यावसायिक हुन गाह्रो हुने भएपछि फेरि सदस्यहरूले रू २५/२५ हजार थपेर नपुग रकम ऋण लिएर मेसिन किनेको उनको भनाइ छ ।
मेसिनको सहायताले धेरै छिटो र सजिलै धेरै सरफ उत्पादन गर्न सकेको उनले बताए ।
समूहले उत्पादन गरेको सरफ प्याकिङ गरेर आफैँले बजारसम्म पुर्याउने गरेको छ ।
बजारमा माग कम रहेकाले अहिले १५ दिनमा दुई पटक उत्पादन गर्ने र अन्य दिनमा बजार गएर मार्केटिङ गर्ने गरेको अध्यक्ष महतोले बताए ।
“उत्पादन गर्ने दिन सबैजना सदस्य बिहान घरधन्दा सकेर कारखानामा उपस्थित हुन्छौँ”, उनले भने, “काम बाँडफाँट गरेर कसैले तयार पाउडर प्याकेटमा हाल्ने, कसैले जोख्ने, कसैले सिल गर्ने र कसैले बोरामा प्याक गरेर राख्ने गर्छौं ।”
यसरी सिप सिकेर उद्यमी–व्यवसायी बनेपछि तरकारी, सामान्य पकेट खर्चका लागि परिवारको मुख ताक्नुपर्ने बाध्यता हटेको उनीहरूको भनाइ छ । कमाउने भएपछि दिनेले समेत आनाकानी गर्न छाडेका समूहकी सचिव सुनिता गोलेले बताए ।
स्थानीय तहले दिने तालिम लिएर सदुपयोग गर्न सके स्वरोजगार बन्नसमेत सहयोग पुग्ने उनीहरूको अनुभव छ ।
स्थानीय उत्पादनलाई मायाँ गर्न आग्रह समूहकी अध्यक्ष महतोले बजारमा अत्याधिक प्रतिस्पर्धा रहेको र स्थानीय उत्पादन भनेपछि नाक खुम्च्याउने प्रचलनले समस्या भएको बताए ।
“हामी लघुउद्यमीसँग ठूलो लगानी छैन्”, उनले भने, “थोरै कच्चापदार्थ लिँदा महँगो पर्छ । उपकरणको प्रयोग गर्न नसकेका कारण लागत पनि केही बढी हुन्छ । त्यसमाथि बजारका स्थानीयले उत्पादन गरेको भनेपछि हेर्न पनि पाप लाग्छ जस्तो गर्नुहुन्छ । यसले केही समस्या भएको छ । तर हामीले हिम्मत नहारी निरन्तर उत्पादन गरिरहेका छौँ ।” कसले उत्पादन गरेभन्दा पनि कस्तो उत्पादन भएको छ । एक पटक प्रयोग गरेर हेरिदिन उनको अनुरोध थियो ।
आफूहरूले बजारमा पाहिने अन्य सरफभन्दा पनि गुणस्तरको पाउडर उत्पादन गरेको अध्यक्ष महतोले दाबी गरे । यस समूहले उत्पादन गरेको सरफ उक्त वडाले सुरू गरेको सुत्केरी पोषण प्याकेज कार्यक्रमा वितरण गरिएको वडाध्यक्ष साहले बताए ।
यसले एकातर्फ उत्पादन गर्ने समूहको सामान बिक्री हुने, अर्कोतर्फ सुत्केरीलाई अत्यावश्क सामग्री पाउनेसँगै नगरको लगानी नगरमै हुँदा दोहोरो-तेहोरो फाइदा भएको उनको भनाइ थियो ।
यसरी नगरका ११ वटै वडाका सुत्केरीलाई वितरण गरिने पोषण प्याकेजमा स्थानीय उत्पादन समावेश गरिदिए आफूहरूले बजार खोज्न धाउनुपर्ने समस्यासमेत समाधान हुने कोषाध्यक्ष स्याङ्तानले बताए ।
स्थानीय तथा नगरवासीले पनि स्थानीय उत्पादन खोजी प्रयोग गरेर साना घरेलु तथा लघुउद्योगलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
“विदेशबाट आयात गरेका सामानले पैसा, रोजगरी, परिवार सबै सात समुन्द्रपार पुर्याएको छ”, स्याङ्तानले भने, “यहाँ कसैको आमा, कसैको छोरा, कसैको बुहारी, कसैको छोरीले आफ्नै घरमा केही गरौँ भनेर मेहनत, लगानी गरिरहेको छ ।”
यस समूहले सामान बेचेको नाफासमेत लगानी गरेर अहिले आठ लाख बराबरको पुँजी विस्तार गरेको जनाएको छ ।
सानो भुइँतलाको घरमा अढाई क्विन्टल क्षमताको मिक्सचर मेसिन, एक थान तौल मेसिन र एक थान प्याकेट सिल गर्ने हिटर मेसिनको प्रयोगबाट उनीहरूले सरफ उत्पादन गरिरहेको छ ।
बजारमा माग बढ्ने हो भने दैनिक २५ क्विन्टलसम्म सरफ उत्पादन र प्याकिङ गर्ने उपकरण र जनशक्ति आफूहरूसँग मौज्दात रहेको समूह अध्यक्ष महतोले बताए ।
यहाँ उत्पादित सरफ प्रतिकिलो होलसेलमा रू ८० र खुद्रामा रू सयसम्म बिक्री वितरण गर्ने गरिएको सचिव गोलेले जानकारी दिए ।
प्रकाशित :
मंगलबार, पौष २ २०८११०:५६
मेरोभ्यूज
मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।