२०८३, कार्तिक १२ गते बिहीबार

सामुदायिक वनभित्र खेती र मल उत्पादन

सामुदायिक वनभित्र खेती र मल उत्पादन


  • मेरोभ्यूज
  • पौष ४, २०८१ बिहीबार

  • सामुदायिक वनभित्र खेती र मल उत्पादन

    हेटौँडा । “पशुपालन नगरे पनि मलको कमी छैन”, यहाँको मनहरी गाउँपालिका–७ की कृषक विमला राईले भने, “पहिले पशुपालन गर्दा अरू काम गर्नै भ्याउँदिन थिएँ । पशु नपालौँ खेती गर्न मल धेरै चाहिने । अहिले त्यो समस्या छैन, ढुक्क छु ।”

    हाल होटल व्यवसायसँगै खेती गरिरहेकी उनको आर्थिकस्तर पहिलेको तुलनामा सुध्रिएको छ । वनको छेउमै घर हुँदा तीन बर्ष अघिसम्म हिउँद लागेपछि डढेलोले घर भेट्ला कि भन्ने चिन्ता हुन्थ्यो । छिमेकीको गोठमा आगो लागेपछि निकै रातसम्म अनिँदो बसेको उनले बिर्सनुभएको छैन ।

    यी समस्याका समाधान खोज्ने क्रममा वन समूहले पत्करबाट मल उत्पादन गर्न थालेपछि डढेलो लाग्न छोडेको उनी बताउछ । उनी वन समूहको आयआर्जन समूहमा पनि आबद्ध हुन । आयआर्जन कार्यक्रममा ‘ग्रिन फाउन्डेसन नेपाल’ (जिएफएन) नामक संस्थाले सहयोग गरिरहेको छ ।

    सुनाचुरी सामुदायिक वनकी उपभोक्ता सरिता ब्लोन पनि वनमा गरिएको कागती, तेजपत्ता, अम्रिसो खेतीले आम्दानी गर्न सहज भएको बताउछ । उनी भन्छ, “पहिले वन संरक्षण मात्र गर्ने होजस्तो लाग्थ्यो तर यहाँ खेती पनि गर्न पाउँदा आम्दानीको स्रोत बनेको छ ।”  

    उनले २० वटा बाख्रा पालेको छ । बाख्रालाई घाँस लिन टाढा जान पर्दैन । बाख्राबाट पनि आम्दानी भइरहेको उनको भनाइ छ ।

    पशुपति सामुदायिक वन उपभोक्ता समूहले हाइटेन्सन मुनि रुख नभएका स्थानमा जडीबुटी र घाँसखेती गरेको छ । जिएफएनको सहयोगमा अदुवा, बेसार र सर्पगन्धाको खेती गरिरहेको समूहकी अध्यक्ष चम्पामाया परियारले जानकारी दिए ।

    उनले भनिन, “यहाँ यसरी आम्दानी हुन्छ जस्तो लागेको थिएन, गर्दा नहुने केही रहेनछ ।” जडीबुटीसँगै यस बर्ष अदुवा पनि खेती गरिएको उनले बताए ।

    सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरका अध्यक्ष साधुराम चौलागार्इंले मनहरी गाउँपालिकाका तीनवटा सामुदायिक वनमा खेती र मल उत्पादन गरिएको बताए ।

    वनबाट समृद्ध बन्ने र जलवायु परिवर्तनको असर कम गर्ने अभियानअन्तर्गत यहाँका डिपार्ट सामुदायिक वन, पशुपति सामुदायिक वन र सुनाचुरी सामुदायिक वनले वनक्षेत्रभित्र खेती र मल उत्पादन गरिरहेको छ ।

    वनमा आधारित ३७ उद्यमहरुलाई दिगो बनाउँदै बजारसँग जोडेर हरित उद्यम विकास गर्न सहयोग गरिरहेको जिएफएनका अध्यक्ष घनश्याम पाण्डेले बताए ।

    उनका अनुसार जिएफएनले वनकरिया साबुन उद्योग, पिप्लेपोखरा सामुदायिव वनमा रहेको श्रमजीवी महिला काष्ठ हस्तकला, हेटौँडा–१२ मा कञ्चनजङ्घा गुन्द्रुक उद्योग, न्युरेनी सामुदायिक वनमा रहेको दुना टपरी उद्योग र थाहा नगरपालिकाको अल्लो उद्योगको उत्पादन र बजारीकरणमा सहयोग गरिरहेको छ । पानीका मुहान सुक्न थालेपछि मनहरी गाउँपालिकाका सामुदायिक वनहरुले पुनर्भरण (रिचार्ज) पोखरी निर्माणलाई प्राथमिकता दिएको छ ।

    डिभिजन वन कार्यालय राप्ती मनहरीले डिभिजनअन्तर्गतका सामुदायिक वनमा मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गरिरहेको जनाएको छ । उपभोक्ताले दैनिक पिउने पानीका स्रोत सुक्दै जानु र वनमा जनावरहरुले पानी खान नपाउँदा समस्या भएकाले रिजार्च पोखरी निर्माणलाई प्राथमिकतामा राखिएको डिभिजन वन कार्यालयका अधिकृत गगन शर्माले बताए ।

    गत आर्थिक बर्षमा सातवटा सामुदायिक वन समूहमा आठवटा रिजार्च पोखरी निर्माण गरिएका छन् । चुरे तथा सुक्खा क्षेत्रमा रिचार्ज पोखरी निर्माण गरेपश्चात् पानीको मुहान संरक्षण र वन्यजन्तुका लागि पानीको उपलब्धतामा सहज भएको छ । वन अधिकृत शर्माले भलबाढीका कारण पोखरी पुरिँदा थोरै समस्या हुने गरेको बताए ।

    सामुदायिक वनमा जैविक विविधता संरक्षणका लागि वृक्षरोपण र संरक्षण गरिएको छ ।

    लोपोन्मुख विजयसाल, सतिसाल, दार, चिउरी तथा बहुउपयोगी नीम रोपिएको छ । लोपोन्मुख वन्यजन्तु सालकको संरक्षणमा विशेष जोड दिइएको छ ।


    प्रकाशित : बिहीबार , पौष ४ २०८१०९:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार