देउखुरी, दाङ । यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् । दुना टपरी बेचेर उनीहरू आर्थिकरूपमा सबल पनि भएका छन् ।
घोराही उपमहानगरपालिका–१२ डाँडागाउँका सात जनाले उद्यमशील दुना टपरी महिला समूह गठन गरेर यन्त्रका माध्यमबाट दुना टपरी तयार गर्न थालेका हुन् । सोसेक नेपाल नामको संस्थाले मेसिनबाट दुना टपरी बनाउने तालिम दिएर मेसिन राख्ने घर बनाइ दिएपछि गत भदौदेखि व्यावासायिकरुपमा दुना टपरी बनाएर बेच्न थालेको समूहका अध्यक्ष पुष्पा चौधरीले बताए ।
सोही समूहकी सदस्य सुशीला चौधरीले घर नजिकै खजुरी सामुदायिक वनको पात आफ्नो आर्जनको माध्यम बनेको बताए । उनले भदौयता दुई हजार दुना टपरी बिक्री गरेर रु दस हजार आम्दानी गरेको बताए । उनीमात्र होइन उनको समूहका सबैले यन्त्र प्रयोग गरेर दुना टपरी बनाउने गरेका छन् ।
सोसेकका जिल्ला संयोजक द्रोण जिसीले विपन्न, केही गरौँ भन्ने सोच भएका महिलालाई छनोट गरेर सीपमूलक तालिम दिएको बताए । महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत सीपसहितको बीउपूँजी पनि उनीहरूलाई प्रदान गरिएको छ ।
घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलालाई आत्मनिर्भर बनाउन पालिकाले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

