२०८३, कार्तिक १२ गते बिहीबार

आँधीखोला तर्न फट्केको भर

आँधीखोला तर्न फट्केको भर


  • मेरोभ्यूज
  • पौष १२, २०८१ शुक्रबार

  • आँधीखोला तर्न फट्केको भर

    वालिङ, स्याङ्जा । स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा फट्केमार्फत् आवत-जावत गर्न थालेको झण्डै ४० वर्ष पूरा भएको छ । स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थीले विशेष गरेर हिउँदका समयमा फट्के उपयोग गर्दछन् ।

    हिउँदका समयमा खोला वारपार गर्नका फट्केले सहज हुने गरेको जनप्रिय माध्यमिक विद्यालय भिरकोट–५ का शिक्षक कृष्णप्रसाद पौडेलले बताए । विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थी तथा सिम्लेबाट गैह्रथोक बजार जान फट्के बनाउनाले खोला तर्न सहज भएको उनले जानकारी दिए ।

    “जाडोको समयमा खोला तर्दा चिसो हुने, जुत्ता मोजा खोल्नुपर्ने, कहिलकाहीँ खोलाले बगाउनेसमेत गर्थ्यो”, उनले भने, “खोलामा पस्नै नपरीकन वारपार गर्न फट्केले सहज भएको छ ।” स्थानीयवासी, शिक्षक, विद्यार्थी सबै मिलेर बर्सेनी बनाउँदै आएको फट्केले यस वर्ष पनि निरन्तरता पाएको उनले बताए ।

    बाँस काटेर सातदेखि नौवटा किला बनाउने र त्यसलाई भाटाले भकारीजस्तै गरी बुनिन्छ । बुनिएको भकारीलाई खोलामा लगेर ढुङ्गा भरिन्छ र त्यसलाई पिल्लरको रूपमा प्रयोग गरी बाँस तेस्र्याइन्छ । तेस्र्याइएको बाँसमाथि बालुवा भरिएको बोरा राखेर फट्के तयार गरिन्छ ।

    खोलाको फैलावटका आधारमा भकारी बनाइने उनले बताए । “खोला कति फराकिलो भएर बहेको छ, त्यसैका आधारमा भकारीको सङ्ख्या घटीबढी हुने गर्छ”, उनले भने, “कहिले सात–आठवटा भकारी बुने पुग्छ, कहिले २०/२२ वटा पनि बुन्नुपर्छ ।”

    पहिला–पहिला बाँस खोज्न टाढाटाढाका गाउँगाउँमा पुग्नुपर्थ्यो । केही वर्ष अघिदेखि विद्यालय आफैँले बाँस रोपण गरेकाले बाँस खोज्न टाढा जानुपर्ने झण्झट हराएको छ ।

    विद्यालयभन्दा केही तल आँधीखोलामा पक्की पुल निर्माण सुरु भएको पनि वर्षौँ भयो । पुल समयमै सम्पन्न हुन नसक्दा पनि विद्यार्थी तथा स्थानीयले बाँसको फट्केबाट खोला वारपार गर्नुपर्ने बाध्यता रहिआएको छ ।

    खोलाको किनारमै रहेको विद्यालयका शिक्षक, विद्यार्थीले कक्षा खाली भएका बेला स्थानीयसँगै जनश्रमदानमा सहभागी हुने गरेका छन् । फट्के बनाउन कम्तीमा तीन दिनदेखि बढीमा एक हप्तासम्म समय लाग्ने गरेको उनले बताए ।

    पहिला वर्षा तथा हिउँदका समयमा माझी तथा बोटेहरूको सहायतामा डुङ्गाबाट वारपार गर्ने गरिएको स्थानीय चन्द्रध्वज खाणले बताए । डुङ्गाबाट खोला वारपार गर्ने गरिएकोमा पछिल्लो समय माझी तथा बोटे समुदाय विस्थापित भएपछि विकल्पका रूपमा फट्के हाल्न थालिएको उनले बताए ।

    पायक पर्ने यस ठाउँमा झोलुङ्गे पुलका लागि पटक-पटक माग गरिए तापनि हालसम्म सुनुवाइ नभएको उनको गुनासो छ । “हिउँदमा फट्के बनाउने र वर्षायाम सुरु हुने बेला झिक्ने यहाँको परम्पराजस्तै बनेको छ”, उनले भने, “विगतका वर्षमा जस्तै यस वर्ष पनि विद्यालयको सक्रियता तथा अगुवाइमा फट्के बनाइएको छ ।” एकपटक फट्के बनाएपछि झण्डै सात/आठ महिनासम्म खोला वारपार गर्न सहज हुने गरेको छ ।


    प्रकाशित : शुक्रबार, पौष १२ २०८१११:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार