२०८३, कार्तिक ११ गते बुधबार

रोजगार सम्मेलन आगामी फागुनमा

रोजगार सम्मेलन आगामी फागुनमा


  • मेरोभ्यूज
  • पौष २२, २०८१ सोमबार

  • रोजगार सम्मेलन आगामी फागुनमा

    काठमाडौं । उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने उद्देश्यसहित सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने भएको छ ।

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आगामी फागुन १६ र १७ गते काठमाडौँमा आयोजना गर्ने भएको हो ।

    मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता डन्डुराज घिमिरेले उक्त दुई दिने सम्मेलनको तयारी बारे जानकारी दिए ।

    मुख्यतः श्रम कानून र नीतिको समसामयिक सुधारमा केन्द्रीत श्रम तथा रोजगार सम्मेलनका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

    त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशकको संयोजकत्वमा तयारी समिति र मन्त्रालयका महाशाखा प्रमुख एवं मातहत कार्यालयका प्रमुखको संयोजकत्वमा सात वटा उपसमिति गठन गरी सम्मेलन तयारी अगाडि बढिरहेको जानकारी दिएको छ ।

    आन्तरिक र वैदेशिक रोजगारका क्षेत्रमा देखा परेका चुनौतीको विश्लेषण गरी आगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको उद्देश्य रहेको सचिव मुकुन्द्रप्रसाद निरौलाले जानकारी दिए ।

    वैदेशिक रोजगारीलाई मुलुकले आर्थिक समृद्धिको अल्पकालीन रणनीतिको रूपमा मात्र लिएको र आन्तरिक उत्पादन तथा उत्पादकत्व अभिवृद्धि नै आगामी कार्यदिशा हुनुपर्नेतर्फ मन्त्रालयले जोड दिएको सचिव निरौलाको भनाइ छ ।

    उक्त सम्मेलनले श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर–तह एवं अन्तर–निकाय समन्वय र सहकार्य स्थापना गर्ने बताइएको छ ।

    “सम्मेलनमार्फत श्रमिक, रोजगारदाता, अनुसन्धानकर्तालगायत यस क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाबाट सरकारलाई प्राप्त हुने सुझावलाई मन्त्रालयले अवलम्बन गर्ने आगामी नीतिगत र कानूनी सुधारमा पृष्ठपोषणको रूपमा आन्तरिकीकरण गर्नेछ”, सचिव निरौलाले भने ।

    दुई दिने सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता/विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी झण्डै पाँच सय जनाको सहभागिता रहने छ ।

    सम्मेलनमा ‘भर्चुअल’ माध्यमबाट पनि सहभागी गराउने मन्त्रालयको तयारी छ ।

    सम्मेलनस्थलमा मन्त्रालय, निजी क्षेत्र तथा अन्य विकास साझेदारको स्टलमार्फत् श्रम तथा रोजगार सम्मेलनसम्बन्धी सूचना तथा जानकारी दिइने जनाइएको छ । मन्त्रालयले २०५४ सालदेखि चार पटक श्रम तथा रोजगार सम्मेलन आयोजना गरिसकेको छ । चौथो सम्मेलन २०७६ मा सम्पन्न गरेको थियो ।


    प्रकाशित : सोमबार, पौष २२ २०८११०:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार